काठमाडौं । ५० वर्षको गौरवशाली इतिहास बोकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) करण चौधरीको अराजक शैलीका कारण विघटनको संघारमा पुगेको छ । संस्थाभित्र अध्यक्ष चौधरीले विधानविपरीत काम गर्न थालेपछि चुलिएको विवादले नाडालाई अस्तित्व संकटतर्फ धकेलेको हो ।

गत भदौ ८ गते बसेको नाडा केन्द्रीय कार्यसमितिको २१ औं बैठकको निर्णय भन्दै अध्यक्ष चौधरीले नाडालाई ‘नाडा अटोमोबाइल्स महासंघ नेपाल’मा रुपान्तरण गर्नका लागि भदौ २४ मा विशेष साधारणसभा बोलाएपछि जुन घटनाले नाडाभित्र विवाद चुलिएको हो ।
चौधरीले असन्तुष्ट पक्षलाई नसमेटी साधारणसभा नै छल्ने किसिमले प्रपञ्च गरेर विशेष साधारणसभा बोलाइएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।
गत पुसमा सम्पन्न ४७औं वार्षिक साधारणसभाले विधान संशोधनमार्फत आकाश गोल्छालाई वरिष्ठ उपाध्यक्षमा नियुक्त गर्दै अध्यक्ष बन्ने बाटो खोलेको थियो । तर जिल्ला प्रशासन कार्यालयले सो निर्णयलाई वैधानिकता नदिएपछि गोल्छा साधारण सदस्यमा झरेका थिए । यसपछि, नाडामा आन्तरिक असन्तुष्टि बढ्दै गयो । नाडाभित्रको आन्तरिक विवाद नसुल्झँदै चौधरीले महासंघमा रूपान्तरण गर्ने एजेन्डा अघि सारेपछि गोल्छा समूहले यसलाई कार्यकाल लम्ब्याउने र अघिल्लो साधारणसभाका निर्णय छल्ने प्रयत्नको रूपमा आरोपित गरेको छ ।
नाडाका निवर्तमान अध्यक्ष ध्रुब थापा, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष निराकार श्रेष्ठसहित ९ जना कार्यसमिति सदस्यले अध्यक्ष चौधरीविरुद्ध गम्भीर आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । उनीहरूले चौधरीले कार्यसमितिमा छलफल नगरी नाडालाई ‘प्रालि’ जस्तो ढंगले चलाएको र संस्थागत नियमविपरीत विशेष साधारणसभा बोलाएको दाबी गरेका छन् । कार्यसमिति सदस्यहरूको नोट अफ डिसेन्टले समेत चौधरीको कदमलाई विधानविपरीत भएको प्रष्ट पारेको छ ।
नाडाको विवाद र अध्यक्ष करण चौधरीको अराजकतालाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले नजिकबाट हेरिरहेको भए पनि शक्तिको आडमा चौधरीले जिल्ला प्रशासनको निर्णय लत्याउँदै आएका छन् । यसलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले गम्भीरताका साथ हेरिरहेको छ । शक्तिको आडमा चौधरीले जिल्ला प्रशासनको निर्णय अवज्ञा गर्दै आए उनको कार्यसमिति विघटनसम्म हुनसक्ने स्रोतले दृष्टिलाई जानकारी दिएको छ ।
भदौ १६ गते उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तत्कालका लागि विशेष साधारणसभा रोक्न निर्देशन दिएको थियो । प्रशासनले सात दिनभित्र साधारणसभा बोलाउने कारणसहित उपस्थित हुन नाडालाई पत्र पठायो । अन्ततः भदौ १९ गते बसेको नाडाको २२औं केन्द्रीय कार्यसमिति बैठकले भदौ २४ गते हुने भनिएको साधारणसभा अर्को सूचना नआएसम्म स्थगित गर्ने निर्णय गरेको छ ।
नाडाभित्रको मतभेदका कारण अघिल्लो वर्ष नै ठूलो व्यवसायिक समूह फुटेर ‘नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)’ गठन भइसकेको छ । चौधरी अध्यक्ष भएपछि सदस्यहरुबीच समन्वय र व्यवस्थापन गर्न नसक्दा नाडाबाट नाइमा बनेको हो ।
‘मूल नेतृत्व असक्षम भयो भने संस्थाको हालत के हुन्छ ? भनेर हेर्ने अहिले गतिलो उदाहारण बनेको छ, नाडा । अध्यक्ष करणको अत्यन्तै कमजोर व्यवस्थापकीय क्षमताका कारण नाडाजस्तो गरिमा बोकेको संस्था फुटिसकेको छ,’ कार्यसमितिका एक सदस्यले दृष्टिसँग भने, ‘यस्तो अवस्थामा चौधरीले राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्नेमा उल्टै गैरकानूनी रुपमा विषेश साधारणसभा बोलाएर संस्था कब्जा गर्ने दूषित स्वार्थ बोकेर अघि बढ्नु लज्जास्पद कुरा हो’, ती सदस्यले दृष्टिसँग भने ।
यसअघि सम्पन्न नाडा अटो शो २०२५ र नाइमा मोबिलिटी एक्स्पो २०२५ ले दुई संस्थाबीचको प्रतिस्पर्धा र दूरी झन् प्रष्ट पारेको छ ।
विवादको सुरुवात
केही समयअघि वरिष्ठ उपाध्यक्ष (सदस्यमा घटुवा गरिएका) आकाश गोल्छा पक्षले अध्यक्ष करण चौधरीले एकलौटी रुपमा संस्था चलाउन खोजेको र साधारणसभाबाट चुनिएका वरिष्ठ उपाध्यक्ष र सदस्यहरुलाई विधान विपरित सदस्यमा झारिदिएपछि विवाद उत्कर्षमा पुगेको हो ।
त्यसपछि अध्यक्ष चौधरीले आकाश गोल्छा, सुनिल रिजाल, प्रदीपमान प्रधान र सन्जय खेतानलाई स्पष्टीकरण सोधेका थिए । महासचिव सुरेन्द्र कुमार उप्रेतीमार्फत गत असार ३ गते सोधिएको स्पष्टिकरणमा चारै जनालाई लिखित स्पष्टिकरण पेश गर्न भनिएको थियो । उनीहरुलाई सात दिनभित्र लिखित प्रष्टिकरण पेश गर्न भनिएको थियो ।
त्यसपछि चारै जनाले स्पष्टिकरण बुझाए् । गोल्छा, रिजाल, प्रधान र खेतानले स्पष्टिकरण बुझाउँदै उल्टै प्रश्न गरेका थिए । यसअघि नाडाले सोधेको स्पष्टिकरणमा गोल्छा र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यबाट हटाउने र प्रधान र खेतानलाई ६ महिनाका लागि निलम्बन गर्ने चेतावनी दिइएको थियो । सोही विवाद लम्बिँदै र तन्किँदै यहाँसम्म नाडा विघटनको संघारमा पुगेको हो ।
नाडामा देखिएको विवाद केवल व्यक्तिगत पदप्राप्ति संघर्ष मात्र नभएर नेतृत्वको असक्षमता र पारदर्शिताको कमीलाई पनि उजागर गर्छ । अध्यक्ष चौधरीले संस्थागत संवाद र सहमति निर्माण गर्न असफल भएको कारण संस्थाभित्रै असहमति चुलिएको हो । अर्कोतर्फ, गोल्छा समूहले आफ्नो अडानमा अडिग रहेर चौधरीलाई घुँडा टेक्न बाध्य बनाएको देखिन्छ ।
यस्तो अवस्थामा, ऐतिहासिक गरिमा बोकेको नाडा यदि वैधानिक प्रक्रियाअनुसार नचलाइए र साझा सहमति खोजिएन भने अझै टुक्रिँदै जाने खतरा प्रष्ट देखिन्छ । नाडाको भावी अस्तित्व अब नेतृत्वले विवाद समाधान गर्ने क्षमता प्रदर्शन गर्छ वा अन्ततः संस्थागत विघटनतर्फ धकेलिन्छ भन्नेमा अडिएको छ ।
नाडाको विवाद र अध्यक्ष चौधरीको अराजकतालाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले नजिकबाट हेरिरहेको भए पनि शक्तिको आडमा चौधरीले जिल्ला प्रशासनको निर्णय लत्याउँदै आएका छन् । यसलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले गम्भीरताका साथ हेरिरहेको छ । शक्तिको आडमा चौधरीले जिल्ला प्रशासनको निर्णय अवज्ञा गर्दै आए उनको कार्यसमिति विघटनसम्म हुनसक्ने स्रोतले दृष्टिलाई जानकारी दिएको छ ।














