काठमाडौं । रुपन्देहीमा ‘जेनजी’ आन्दोलनको नाममा युवाहरूले सोमबार बिहानदेखि गरेको प्रदर्शनका क्रममा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको घरमा तोडफोड गरेका छन् । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार प्रदर्शनकारीले ढुङ्गा हानेर खाँणको घरको मूल गेट र केही झ्यालका सिसा फुटाएका छन् ।

खाँणका भाइ, कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले घरमा उनकी आमा र भाउजू मात्र रहेको थिए । भैरहबाट फर्केको समूहले घरमा तोडफोड गरेको गरेको जनाइएको छ ।
प्रदर्शनकारीले नेपाली कांग्रेस र एमालेको रुपन्देही कार्यालयमा तोडफोड गरेका छन् । कांग्रेस कार्यालयमा दुई गाडी र चार मोटरसाइकलमा क्षति पुगेको छ । एमाले जिल्ला कार्यालय र बुटवलस्थित प्रदेश कार्यालयमा पनि ढुङ्गा प्रहार गरिएको छ ।
आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार दिउँसो ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर र मुख्य राजमार्ग आसपासका क्षेत्रमा लागू छ। यी क्षेत्रमा भेला, जुलुस वा कुनै अवरोधजनक गतिविधि निषेध गरिएको छ ।














