काठमाडौं । ‘जेन जी’ पुस्ताको आन्दोलनमा भएको बर्बर दमन र २० जना प्रदर्शनकारीको मृत्युपछि देशभरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘डिजिटल ब्ल्याकआउट’ अभियान सुरु गरेका छन् ।

सरकारको दमनप्रति ऐक्यबद्धता जनाउँदै र मृतकप्रति शोक व्यक्त गर्दै हजारौं प्रयोगकर्ताले आफ्नो प्रोफाइल तस्बिर कालो बनाएका छन् । चौतर्फी दबाब र नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।
सोमबार भएका प्रदर्शनहरूमा काठमाडौंमा १८ र इटहरीमा दुई गरी २० जना युवाले ज्यान गुमाएपछि देश शोकमा डुबेको छ । प्रदर्शनमा २५६ जना घाइते भएका छन् । जसमध्ये २२ जनाको अवस्था अझै गम्भीर रहेको बताइएको छ ।
निर्दोष युवा र स्कुले बालबालिकासमेत प्रहरी दमनको सिकार भएको भन्दै नागरिक स्तरमा आक्रोश चुलिएको छ । यही आक्रोश सामाजिक सञ्जालमा ‘ब्ल्याकआउट’ का रूपमा पोखिएको हो ।
प्रयोगकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको समेत राजीनामा माग गरिरहेका छन् ।
सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र देशमा व्याप्त भ्रष्टाचारको विरोधमा सोमबारदेखि ‘जेन जी’ पुस्ताले देशव्यापी प्रदर्शन सुरु गरेको थियो ।
शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन प्रहरी दमनपछि हिंसात्मक बन्न पुगेको हो ।














