Logo
Logo

एकै परिवारका चार जनामा कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता


कञ्चनपुर, २२ भदौं । शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत कार्यालय सहयोगी परिवारका चार जना सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको छ । नगरपालिका– ११ का स्थायी बासिन्दा रहेका कार्यालय सहयोगीसहित उनकी श्रीमती, बज्यै र ठूली आमामा कोरोनाको संक्रमण देखिएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार चार जनासँगै पिसिआर परीक्षणका लागि स्वाब लिइएकामध्ये छोरीको स्वाबको नतिजा भने नेगेटिभ आएको छ । कैलालीको धनगढीमा रहेको सिपी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका २२ वर्षीया श्रीमतीमा कोरोनाको सङ्क्रमण देखिएको थियो ।
भेट्न जाने क्रममा परिवारका अन्य व्यक्तिलाई समेत कोरोनाको संक्रमण भएको अनुमान गरिएको छ । श्रीमतीमा कोरोनाको संक्रमण भएको पाइएपछि सम्पर्कमा आएका परिवारका सदस्यको कन्ट्रयाक्ट ट्रेसिङको कार्य गर्दा परिवारका तीन जनामा कोरोनाको संक्रमण भएको पाइएको हो ।
परिवारका अन्य सदस्यमा कोरोनाको संक्रमण भएको पाइएको छैन । कोरोनाको संक्रमणको आशंका भएपछि पिसिआर परीक्षणका लागि स्वाब दिएको चार दिनदेखि नै क्वारेन्टिनमा बस्दै आएको कार्यालय सहयोगीले बताए ।

प्रतिक्रिया दिनुहोस्