Logo
Logo

आफूलाई जस्तो सुहाउँछ, त्यही हो फेसन-उषा लिम्बू, फेसन डिजाइनर


- दृष्टि न्युज/संवाददाता


कुनै समय सुनसरीको धरान ‘फेसनेवल सहर’का रुपमा चिनिथ्यो । तर, विस्तारै त्यहाँका लाहुरे समुदाय बेलायततिर पलायन हुनेक्रम बढेपछि केही सुस्ताएको छ । यसैबेला फेसन डिजाइनर उषा लिम्बूले पूर्वी नेपाल (प्रदेश–१)लाई लक्षित गर्दै फेसन व्यवसायी सुरु गरेकी छन् । ‘पूर्वमा फेसनको राम्रो क्रेज छ’ हालैमात्र झापाको दमक–६ मा ‘हेरा बुटिक’ सञ्चालनमा ल्याएकी उषाले भनिन्, ‘पूर्वमा आधुनिक फेसनको बजार प्रवद्र्धन गर्नु मेरो उद्देश्य हो ।’ उषा सानैदेखि फेसन डिजाइनिङप्रति रुचि राख्थिन् । तर, जब उनीले काठमाडौं बागबजारस्थित इन्टरनेशल इन्ष्टिच्युट अफ फेसन टेक्नोलोजी (आइआइएफटी)मा फेसन डिजाइनिङ कोर्ष पूरा गरिन्, तब व्यवसायीरुपमै उनी व्यवसायी बन्न पुगिन् । ‘हेरा बुटिक’ सुरु भएको धेरै भएको छैन । बुटिक सञ्चालनमा ल्याउने तयारी गर्दागर्दै कोरोना संक्रमणका कारण देश लकडाउन भएपछि रोकिएको थियो । केही साताअघिबाट काम सुरु गरेकी उषाले भनिन्, ‘अहिले राम्रो भइरहेको छ ।’ करिब २० लाख रुपैयाँ खर्चेर आफ्नै गृहनगर दमकमा बुटिक सञ्चालनमा ल्याएर पूर्वलाई ‘फेसन हब’ बनाउने उद्देश्य लिएकी उषा लिम्बूसँग जम्काभेट :

फेसन व्यवसायी सुरु गर्नुभएको कति भयो ?

धेरै भएको छैन । लकडाउन सुरु हुनअघि तयारी गर्दै थिएँ । तयारी गर्दागर्दै कोरोना संक्रमणका कारण लकडाउन भएपछि काम रोकिएको थियो । लकडाउन केही खुकुलो भएपछि काम सुरु गरेकी हुँ ।

हिजोआज बुटिकको काम भइरहेको छ ?

एक सातायता काम त भइरहेको छ । तर, घरभित्रै बसेर गर्नुपर्ने काम भएकाले पनि सजिलो भएको छ ।

बुटिक सुरु गर्नै लाग्दा लकडाउन सुरु भयो । घाटा त भयो होला नि ?

खासै घाटा भएन । अर्डरका लुगाहरु घरमै बसेर पनि तयार गर्थे । सामान्य अवस्थामा जस्तोचाहिँ व्यापार भएन ।

फेसन डिजाइनर बन्ने सोच कसरी आयो ?

सानै हुँदादेखि रुचि थियो । तर, व्यवसायीरुपमै डिजाइनर बन्छु भन्नेचाहिँ सोचेकी थिइनँ । जब आइआइएफटीमा डिजाइनिङ कोर्ष गरेँ, त्यसपछि फेसन डिजाइनिङ पनि पेसा बनाउन सकिन्छ भन्ने लागेर यो क्षेत्रमा हात हालेकी हुँ ।

व्यवसायी डिजाइनरहरु काठमाडौं केन्द्रित छन् । तपाइँले किन झापा रोज्नुभयो ?

यो मेरो होमटाउन हो । अर्को कुरा, पूर्वमा पनि फेसनको राम्रो मार्केट छ । काठमाडौंमा बुटिकहरु थुप्रै छन् । झापामा सिमित मात्रै छन् । झापामा एउटा राम्रो बुटिक सञ्चालन गर्न सक्यो भने बजार लिन सकिन्छ भनेर होमटाउनमै बुटिक खोलेकी हुँ । मेरो उद्देश्य विस्तारै पूर्वलाई ‘फेसनहब’ बनाउनु पनि हो । हेरौँ, कतिसम्म सकिन्छ ।

बुटिकका पहिरन महँगो हुन्छ भनिन्छ, त्यो क्रेज पूर्वमा छ ?

मेरो बुटिकमा महँगो छैन । काठमाडौंमा सेलिब्रेटीले लगाउने पहिरनजस्तो महँगो त जाँदैन । तर, पहिरन र अर्डरअनुसार मूल्य निर्धारण गरिन्छ । हातले बुट्टा भरेर डिजाइन गरिएका पहिरनहरु केही महँगो पर्न जान्छ । त्यो भनेको बेलाबेला मात्र आउने हो । सिम्पल डिजाइनको अर्डर बढी आउँछ । त्यहीअनुसार मूल्य पर्छ ।

कोरोना संक्रमणको महामारीसँगै फेसन बजारमा ह्रास आएको छ । यसैबेला तपाइँले बुटिक सञ्चालनमा ल्याएर पछुतो लागेको छैन ?

मलाई त पछुतो लागेको छैन । कोरोनाले गर्दा इभेन्टहरु पूर्णरुपमा बन्द भएपछि फेसन बजारमा ह्रास आएको हो । तर, म इभेन्ट र फिल्मभन्दा बाहिरका मानिसहरुका लागि बढी पहिरन तयार गर्छु । त्यसैले मलाई फरक परेको छैन ।

तपाइँको बुटिकमा बढी के अर्डर आउँछ ?

सबै किसिमका अर्डर आउने गरेको छ । क्याजुअलदेखि फर्मल सारी, गाउन, लेहेँगाहरुको अर्डर आउँछ ।

तपाइँ कतिको फेसन कन्सस हुनुहुन्छ ?

खासै फेसन गर्दिनँ । मलाई हल्काफुल्का पहिरन मनपर्छ । आफैँ राम्री बन्नुभन्दा अरुलाई राम्री बनाउन पाउँदा खुसी लाग्छ ।

तपाइँको बुझाइमा फेसन के हो ?

फेसन भनेको यस्तै हुनुपर्छ भन्ने छैन । समय सान्दर्भिक आफूलाई कम्फाटेवल लाग्ने पहिरन नै फेसन हो । हुन त फेसनको परिभाषा व्यक्तिपिच्छे होला । जे भएपनि आफूले लगाएको लुगाले सुहाउनुपर्छ, त्योचाहिँ फेसन हो ।

प्रस्तुति : एमपी सुब्बा

प्रतिक्रिया दिनुहोस्