Logo
Logo

देशैभर निर्वाध पेसा, व्यवसाय गर्न सक्ने वातावरण बनाउन उद्योग वाणिज्य महासंघको आग्रह


252
Shares

काठमाडौं । देशभर भएको आन्दोलन एवं प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले दुःख व्यक्त गरेको छ । साथै, महासंघले देशैभर निर्वाध पेसा, व्यवसाय गर्न सक्ने वातावरण बनाउन समेत आह्वान गरेको छ ।

आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धान्जली अर्पण गर्दै महासंघले परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी, राजश्वको सदुपयोग लगायत विषयमा युवा पुस्ताले चासो देखाएको बताएको हो । यसका लागि विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भई युवा पुस्ताको चाहना बमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा महासंघले गरेको छ ।

देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर शुसासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवम् सहकार्य गर्न तयार रहेको बताएको छ । नवनिर्माण एवं पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको भन्दै महासंघले उद्यम व्यवसाय निर्वाध सञ्चाचालन गर्न आवश्यक शान्ति सुरक्षा व्यवस्थाका लागि आग्रह गरेको छ ।

सबै जिल्ला र एक सय भन्दा बढी पालिकाहरूमा सदस्य उद्योग वाणिज्य संघको उपस्थिति रहेको स्मरण गराउँदै महासंघले जिल्ला, नगर, वस्तुगत, एसोसिएट लगायतका सदस्यमार्फत करिब ६ लाख साना मझौला एवम् ठूला उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्ने उल्लेख गरेको छ ।

पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवम् निवासमा समेत तोडफोड र आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवम् व्यवसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघ भत्सर्ना गरेको छ ।
साथै, महासंघले व्यवसायिक एवम् व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराएको छ । उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर अर्बौ रुपैयाँ बराबरको क्षति भएको महासंघको भनाइ छ । यसबारे महासंघले थप विवरण संकलन गरिरहेकोपनि जनाएको छ ।

निषेधाज्ञा एवम् कफ्र्युको समयमा पनि अत्यावश्कीय सेवा तथा पेशाकर्मीहरुको आवतजावतमा सहजीकरण गर्न भनिएको छ । आवश्यक वस्तु, औषधि, खाद्यान्न, दुध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थको ओसारपसार सहजीकरणमा समेत महासंघले आग्रह गरेको छ । केन्द्र, प्रदेश र जिल्लास्तरमा रहने सुरक्षा समितिमा महासंघ र महासंघका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता गराउन आग्रह गरिएको छ ।

यस्तै, अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएपनि धेरै भन्सार नाका अहिले बन्द छन् । अत्यावश्यकीय लगायतका सामान आयात निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिइ सुचारु गर्ने वातावरण निर्माणका लागि पनि महासंघले आग्रह गरेको छ ।

नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका विषय समावेश हुँदा अर्थतन्त्र चलायमान भइ समुन्नति र स्थायित्व कायम हुने विश्वास लिइएको छ । सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेरमात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव रहेको महासंघको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्