काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै नेपाली युवाहरूको प्रशंसा गरेका छन् । भारतको मणिपुरबाट उनले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरेका छन् ।

उनले मणिपुरबाट नेपालका साथीहरूसँग सम्पर्क गर्ने प्रतिबद्धता पनि जनाए । ‘मणिपुरको धर्तीबाट नेपालका साथीहरूसँग पनि कुरा गर्छु । हिमालयको काखमा बसेको नेपाल भारतको एउटा मित्र हो । नजिकको साथी हो । हामी साझा इतिहासबाट जोडिएका छौँ, अस्थानबाट जोडिएका छौँ । एकसाथ अगाडि बढिरहेका छौँ । म नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री पद सम्हाल्नुभएकोमा १४० करोड भारतीयको तर्फबाट श्रीमती सुशीलाजीलाई बधाई दिन चाहन्छु । मलाई आशा छ, नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ,’ उनले भनेका छन् ।
उनले नेपालले पहिलो महिला प्रधानमन्त्री पाउनु महिला सशक्तीकरणको ठूलो उदाहरण भएको बताउँदै भने, ‘नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजी आउनु महिला सशक्तीकरणको ठूलो उदाहरण हो । म आज नेपालमा त्यस्ता प्रत्येक व्यक्तिको सराहना गर्न चाहन्छु, जसले यस्तो अस्थिरताका बावजुद लोकतान्त्रिक मूल्यलाई सर्वोपरि राखे ।’
उनले प्रदर्शनका बावजुद नेपाली युवाहरूले गरिरहेको सरसफाइ अभियानको पनि प्रशंसा गरेका छन् । उनले नेपालमा नयाँ उदय भएको संकेत पनि गरे । उनले भने, ‘एउटा अर्को अर्को कुरा पनि छ, जसमा धेरैको ध्यान गएको छैन। पछिल्ला दुई तीन दिनदेखि नेपालका युवा-युवतीहरू सडकमा सफाइ र रंगरोगनका काम मेहनत र पवित्र भावनाका साथ गरेको देखिएका छन्। सामाजिक सञ्जालमा आएका उनीहरूको तस्बिर मैले पनि देखेको छु। उनीहरूको सकारात्मक सोच, सकारात्मक कार्य प्रेरणादायीमात्र होइन, नेपालको नवोदयको स्पष्ट संकेत पनि हो। नेपालको उज्ज्वल भविष्यको शुभकामना दिन चाहन्छु ।’











