काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनका घाइतेहरूले आफूहरूको बलिदानको सम्मान गर्न आग्रह गरेका छन् ।
बानेश्वरस्थित सिभिल अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न पुगेकी प्रधानमन्त्री कार्कीलाई उनीहरूले जेनजी पुस्ताको योगदानलाई मूल्यांकन गर्न अनुरोध गरे ।

अस्पतालमा उपचाररत एक घाइतेले प्रधानमन्त्री कार्कीलाई भने– ‘यो पुस्ताको योगदान खेर जानु हुँदैन। हामीले देशका लागि गोली खाएका हौं। तपाईंले राम्रो काम गर्नुहोला ।’
प्रधानमन्त्री कार्कीले सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मी समक्ष उपचारमा देखाएको सक्रियताको प्रशंसा गर्दै बिरामीहरूसँग केही समय कुराकानीसमेत गरिन् ।
यसअघि प्रधानमन्त्री कार्की नेशनल ट्रमा सेन्टर पुगेकी थिइन्, जहाँ उनले चिकित्सकहरूसँग घाइतेहरूको अवस्थाबारे जानकारी लिइन् र उपचारमा कुनै कसर नराख्न निर्देशन दिइन् ।
प्रधानमन्त्रीको निर्देशनपछि ट्रमा सेन्टरमा बिरामीको निःशुल्क उपचार हुने जानकारी केन्द्रका निर्देशक डा। बद्री रिजालले दिएका छन् ।
जेनजी आन्दोलनको क्रममा हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ भने सयौं प्रदर्शनकारी घाइते भएका छन्।














