काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सृजनात्मक युवापुस्ताको सोचअनुसार भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता दिन अठोटका साथ काम गर्न निर्देशन दिएकी छन् ।

सिंहदबारमा आज पदबहालीपछि उच्च पदस्थ कर्मचारीलाई निर्देशन दिँदै उनले आफू पदको रसास्वादन गर्न नभई युवाको चाहनाअनुसार सेवा गर्न आएकाले छ महिनाभित्र निर्वाचनबाट नयाँ संसदलाई जिम्मेवारी दिने उद्देश्यका साथ आएको स्पष्ट गरिन् । ‘कुन परिस्थितिबाट अन्तरिम सरकार बन्यो तपाईँलाई विदितै छ। ठूलो जनधनको क्षति भएको छ। मुख्य निकायका प्रमाण र अभिलेख नष्ट हुँदा शून्यमा पुगेका छौँ । सुरक्षा निकायलाई दिइएका सवारीसाधन जलेका छन् । हत्याहिंसा भएको छ । अत्यावश्यक निकायलाई छानीछानी आक्रमण गरिएको छ । यसको अनुसन्धान हुन बाँकी छ,’ उनले भनिन्, ‘नेपाली नै भएर यो काम गरेको हो भने लज्जित हुनुपर्ने हो । यस्तो घटना नेपालमा पहिलो पटक भएको हो। हाम्रा मुख्य भवनहरू अनुहार देखाउन नमिल्ने भएका छन् । यो षड्यन्त्र नियोजित हो कि भन्ने लागेको छ । अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
प्रधानमन्त्री कार्कीले क्षतिपूर्ति र पुनर्निर्माणका काम देशमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर बनाउनुपर्छ भन्ने आफूलाई लागेको बताउँदै यो मुलुकविरुद्ध गरेको नृशंस कार्यको एकताबद्ध भएर, जनतालाई गुहारेर सामना गर्नुपर्नेमा जोड दिइन् । ‘म हिजो महाराजगञ्ज जाँदा त्यहाँ जलेको प्रहरी वृत्त बनाउने जिम्मा त्यहाँका व्यवसायीले लिन्छौँ भने, मैले उनीहरूलाई धन्यवाद दिएँ । हामी सबै यसरी नै मिलौँ । एकअर्काको आलोचना नगरौँ। मलाई सहयोग गर्नुहोस् ।’
मुख्यसचिव एकनारायण अर्यालले क्षति भएका सरकारी संरचनाको पुनस्थापना गरी सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने चुनौती रहेको बताए । उनले सबै जिल्लाका सरकारी कार्यालय र सुरक्षा निकायका भवनमा क्षति भएको जानकारी दिँदै पुनसंरचनाका लागि बजेटको व्यवस्था गरी प्राथमिकताका आधारमा पुनर्निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।
जेनजी समूहको यही भदौ २३ र २४ गतेको आन्दोलनपछिको उत्पन्न स्थितिपछि यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आज गृह मन्त्रालयका लागि निर्माण गरिएको भवनमा पदबहाली गरेकी हुन् ।














