Logo
Logo

निषेधाज्ञा खुकुलो बनाउन सुझाव, आज निर्णय हुँदै


- दृष्टि न्युज/संवाददाता


मंगलबार पुरानो बसपार्कबाट भद्रकालीतर्फ गुडिइरहेको सवारी साधन जाँच गर्दै ट्राफिक प्रहरी । निषेधाज्ञा जारी अवधिमा अनावश्यक हिँहडुलमा सुरक्षाकर्मीले कडाइ गरेको छ ।

काठमाडौं, २४ भदौं । उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञा खुकुलो बनाउन सरोकारवाला निकायले सुझाव दिएका छन् । जारी निषेधाज्ञा सकिन एक दिन बाँकी हुँ“दा मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसीएमसी)को बैठकमा सहभागीले यस्तो सुझाव दिएका छन् ।
यही ४ भदौमा जारी गरिएको निषेधाज्ञा तेस्रोपटक केही खुकुलो बनाइएको थियो । स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले थप कडाई गर्नुपर्ने सुझाव दिएपनि ‘परिस्थिति काबु बाहिर जाने’ भन्दै स्थानीय प्रशासनले थप खुकुलो बनाउने तयारी गरेको छ ।
निषेधाज्ञा कारण श्रमजिवी भोकै बस्नुपर्ने अवस्था आउन थालेको विश्लेषणसहित स्थानीय प्रशासनले थप खुकुलो बनाएर त्यसबारे आज बुधबार निर्णय गर्ने भएको छ । मजदूरलाई दुईछाक खान समस्या भएको र अर्थतन्त्र डामाडोल भएका समस्यामा सरकार जानकार रहेको उल्लेख गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुधबार अन्तिम निर्णय गर्ने बताएका छन् । यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने इस्युमा पनि छलफल भइरहेको प्रजिअ दाहालले बताए ।
यस्तै, उपत्यकाको मेयर फोरमले सीमा नाकामा कडाई गर्न सेना परिचालनका लागि सिफारिस गरेको छ । मेयर फोरमको बैठकले उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्न र सीमा नाकामा सेना परिचालन गरेर कडाई गर्न मंगलबार सिफारिस गरेको हो । उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाको साझा संस्था उपत्यका नगरपालिका फोरमले उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाई गर्न माग गरेको छ ।
बैठकले उपत्यकाको जोखिमलाई ध्यानमा राखी अझै केही समय सार्वजनिक यातायातलाई सञ्चालनमा रोक लगाई अन्य सवारीमा भने जोर–बिजोर प्रणाली लागु गर्न आग्रह गरेको छ । नागरिकलाई स्वास्थ्य सुरक्षा मापदण्डका विषयमा सचेत र जिम्मेवार बनाउँदै लैजाने, उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने, गराउने पनि बैठकले निर्णय गरेको छ । पछिल्लो समय जारी गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्