पोखरा । पोखरा पर्यटन परिषद्ले आन्दोलनका नाममा हुने हिंसात्मक गतिविधिबाट पर्यटन उद्योग प्रत्यक्ष रूपमा प्रभावित भएको भन्दै व्यावसायिक सुरक्षा सुनिश्चित गर्न सरकार र सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

परिषद्का अध्यक्ष तारानाथ पहारीद्वारा जारी अपिलमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा होटल, रेष्टुरेन्ट, पसल तथा सवारीसाधनमाथि भएको तोडफोड, आगजनी र लुटपाटप्रति गहिरो दुःख व्यक्त गरिएको छ।
परिषद्ले पर्यटन उद्योग विदेशी मुद्रा आर्जन गर्ने मुख्य माध्यम भएको स्मरण गराउँदै, यस्ता घटनाले व्यवसायीमात्र नभई मुलुककै अर्थतन्त्रमा असर पार्ने उल्लेख गरेको छ।
परिषद्ले दोषीउपर कडा कारबाही र पीडित व्यवसायीलाई क्षतिपूर्ति दिन माग गर्दै, प्रदर्शनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।














