काठमाडौँ। सहरी विकास मन्त्रालयले जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडबाट भएको क्षतिको विवरण तीन दिनभित्र संकलन गर्ने तयारी गरेको छ।

सचिव गोपालप्रसाद सिग्देलको संयोजकत्वमा आज बसेको बैठकले सो निर्णय गरेको हो।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीका अनुसार आगलागीमा मन्त्रालयका ५० गाडी जलेर नष्ट भएका छन्, केही गाडी तोडफोडमा परेका छन्, र कार्यालय सामग्रीहरू चोरी भएका छन्। सिंहदरबारको अधिकांश भवन जलेपनि सहरी मन्त्रालय भने सुरक्षित रहेको छ, यद्यपि भित्रका सामग्री चोरी भएका छन्।
सचिव सिग्देलले सहरी विकास तथा भवन निर्माण विभाग करिब ६० प्रतिशत जलेको जानकारी दिए। अब कार्यालय सञ्चालन कहाँबाट गर्ने भन्ने विषयमा अन्योल रहेको र मन्त्री क्वाटरसमेत क्षति पुगेको विवरण संकलन गरिने बताए। हाल मन्त्रालयले सरसफाइ र पुनः सञ्चालनको योजना बनाउन थालेको छ।














