काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तु र सेवाको सहज आपूर्ति सुनिश्चित गर्न व्यवसायी, उपभोक्ता र सरोकारवाला सबै पक्षलाई आग्रह गरेको छ।

हालैको आन्दोलनबाट उत्पन्न विषम अवस्था क्रमशः सामान्य बन्दै गएको भन्दै विभागले आइतबार सूचना जारी गरी खाद्यान्न, इन्धन, औषधि, ग्यासजस्ता आवश्यक सामग्रीको आपूर्तिमा कुनै अवरोध नआओस् भनेर वस्तु सञ्चय नगर्न अनुरोध गरेको हो।
विभागले निजी क्षेत्रका उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र विक्रेतालाई माग, आपूर्ति र मूल्यमा नकारात्मक असर पार्ने क्रियाकलाप नगर्न सचेत गराएको छ। साथै, उपभोक्तालाई पनि आवश्यकता भन्दा बढी वस्तु किनमेल नगर्न र बजारमा कृत्रिम अभाव सिर्जना नहोस् भन्नेमा सहयोग गर्न अनुरोध गरिएको छ।
विभागले उपभोक्ता हितको संरक्षणलाई प्राथमिकतामा राख्दै बजार निगरानी र अनुगमन कार्यलाई पनि थप सक्रिय बनाइने जनाएको छ।














