Logo
Logo

मन्त्रीमा रामेश्वर खनाल र कुलमानको नाम टुङ्गियो, गृहमा हर्कको दाबी 


23.4k
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले दुई जना मन्त्री टुङ्गो लगाएकी छन् । अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुङ्गो लागेको हो ।

The current image has no alternative text. The file name is: mantri.jpg

प्रधानमन्त्री कार्कीले उनीहरूसँग सुरुमा फोनमा कुराकानी गरेकी थिइन् । त्यसपछि प्रधानमन्त्री कार्यालयमै बोलाएर छलफल गरी टुङ्गो लगाइएको हो । 

यसबाहेक ओमप्रकाश अर्याललाई पनि मन्त्री बन्न प्रस्ताव गरिएको छ । अर्यालले  भने आफू सरकार बाहिरै रहेर सहयोग गर्ने बताइरहेका छन् । 

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने खनाल पूर्वअर्थसचिव हुन् । ऊर्जामन्त्रालयएको  जिम्मेवारी सम्हाल्ने घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् ।

गृहमन्त्री माग गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रधानमन्त्री निवास बालुवाटार पुगेको खुलेको छ । साम्पाङ आइतबार बिहानै ७ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका खुलेको हो । उनले प्रधानमन्त्री कार्कीसँग भेट्न अनुमति मागेका थिए ।

बालुवाटारका सुरक्षाकर्मीहरूले साम्पाङलाई सुरूमा भित्र प्रवेश गर्न दिएका थिएनन् । लामो समयसम्म पनि पर्खेर साम्पाङले भेट्न अनुरोध गरेपछि सुरक्षाकर्मीले परिसरभित्र प्रवेश दिएको जनाइएको छ । तर, साम्पाङ भेट्न नपाइ फर्किएका छन् ।

धरानका मेयर हर्क साम्पाङले यसअघि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने पनि भने थिए । युवाहरूको समर्थन आफूलाई भएको बताउँदै उनी जङ्गी अड्डासमेत पुगेका थिए ।

त्यसैगरी, नेपाल प्रहरीका पूर्व आइजिपी सर्वेन्द्र खनाल पनि शनिवार साँझ प्रधानमन्त्री निवास पुगेको पाइएको छ ।

यसअघि नवनियुक्त प्रधानमन्त्री कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधीवक्ता नियुक्त गरिसकेकी छन् ।आइतबार बिहानदेखि नै कार्कीले मन्त्रीमण्डल गठनलाई तीव्रता दिँदै छलफल सुरु गरेकी हुन् ।

जेनजी आन्दोलनको दबाबमा निवर्तमान प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन् । उनी नेपालको इतिहासकै प्रथम महिला प्रधानमन्त्री हुन् ।

प्रतिक्रिया दिनुहोस्