Logo
Logo

सुदन समूहले माग्यो प्रधानमन्त्रीको राजीनामा


126
Shares

काठमाडौं । जेनजी अगुवा भनिएका सुदन गुरुङको समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै गएराति प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि सुदन समूहले नाराबाजी गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हो ।

त्यस क्रममा गुरुङले ओमप्रकाश अर्याललाई मन्त्री बनाइएको भन्दै तीव्र आक्रोश व्यक्त गरेका थिए । उनीहरुले फेरि आन्दोलन हुन सक्ने चेतावनी दिएका थिए । प्रदर्शनकारीले भनेका छन्, ‘हामी फेरि सडकमा आयौँ भने कसैले रोक्न सक्दैन ।’

उनीहरूले मुर्दामाथि राजनीति नगर लगायतका नारा लगाएका थिए । एक प्रदर्शनकारी भन्दै थिए, ‘यो आन्दोलनको नेतृत्वर्कता हामी हौँ, हाइज्याक गरेका छन– कुनै कुनै साथीहरूले ।’

त्यस्तै सुदनले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’

पदभार ग्रहण गरेकै दिन आइतबार प्रधानमन्त्री कार्कीले ओमप्रकाश अर्याललाई गृह, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ र कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गर्ने तायरी गरेका थिए । उनले यी नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिसकेका छन् ।

उनीहरूको शपथ आज गराउने तयारी भइरहेका बेला जेनजीको बलमा प्रधानमन्त्री नियुक्त भएका कार्कीको राजीनामा तिनै जेनजी समूहले माग गरेको हो ।

जेनजी आन्दोलनकै कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकार प्रमुख (प्रधानमन्त्री) बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्