काठमाडौं । दशैं–तिहार नजिकिँदै गर्दा चीनसँग जोड्ने प्रमुख व्यापारिक नाका रसुवा र तातोपानी ठप्प हुँदा करिब १९ सय कन्टेनरमा लोड भएका चाडपर्व लक्षित सामान अलपत्र परेका छन् । फलस्वरूप नेपाली बजारमा नयाँ सामान अभाव हुने र यसले उपभोक्ता मात्रै होइन, व्यवसायी र मुलुकको अर्थतन्त्रसमेत प्रभावित गर्ने देखिएको छ ।

एकातिर जेनजी आन्दोलनका क्रममा भएको सरकारी दमन र त्यसपछिको हिंशाका कारण बजार अस्तव्यस्त बनेकोमा अर्कातिर दशैंका लागि सामान बोकेको कन्टनेर उतै अलपत्र परेका हुन् ।
यसले नेपालीहरूलाई दशैं खल्लो बनाउने भएको छ । साथै, महँगीको मारमा नेपाली पर्ने भएका छन् । व्यवसायीहरूका अनुसार, दशैंमा अनुमान गरिए भन्दा करिब १५ देखि २० प्रतिशतसम्म वा यो भन्दा पनि बढी मूल्य वृद्धि हुने देखिएको छ ।
व्यवसायीका अनुसार साउनको पहिलो सातादेखि नै चाडपर्वका लागि अर्डर गरिएका इभी सवारीसाधन, कपडा, जुत्ता, खेलकुदका सामग्री, इलेक्ट्रोनिक्स, बत्ती, तयारी पोशाक, कस्मेटिकदेखि दैनिक उपभोग्य सामानसम्म नेपाल भित्रिसक्नुपर्ने थियो । तर रसुवा नाकामा आएको बाढी र तातोपानी सडक खण्डमा पहिरोका कारण सामान ल्याउन नसक्दा ति कन्टेनर चीनकै विभिन्न स्थानमा अलपत्र परेका हुन् ।
नेपाल चीन व्यापारको करिब ७० प्रतिशत आयात निर्यात हुने यी दुई नाका पूर्ण रुपमा अवरुद्ध हुँदा यसपालीको दशैं तिहार उपभोक्ताको लागि महँगो हुने भएको हो ।
नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष रामहरी कार्कीले तातोपानी नाकाको अस्थिर अवस्थाका कारण व्यापारीहरूले रसुवालाई प्राथमिकता दिए पनि अहिले त्यो पनि पूर्ण रूपमा बन्द भएको बताए । उनका अनुसार रसुवा नाकामा मात्रै करिब ५ सय कन्टेनर रोकिएका छन् भने तातोपानीतर्फ ल्हासा–न्यालम क्षेत्रमा झण्डै १ हजार ४ सय कन्टेनर फसेका छन् । ती कन्टेनरमा करिब ३५ अर्ब रुपैयाँ बराबरको चाडपर्व लक्षित सामान रहेको अनुमान गरिएको छ ।
व्यवसायीहरूले वैकल्पिक रूपमा ती कन्टेनरलाई समुद्रीमार्ग हुँदै वीरगञ्ज वा विराटनगर ल्याउन सकिने भए पनि त्यसको लागत र समय दुवै बढ्ने भएकाले मध्यम तथा साना व्यापारीका लागि सम्भव नभएको बताएका छन् ।
असार २४ गते आएको बाढी रसुवा नाका अवरुद्ध भएको हो । बाढी र पहिरोले मितेरी पुल र सुख्खा बन्दरगाह समेत बगाएको थियो । त्यसपछि चीनले ह्युम पाइप राखेर अस्थायी पुल बनाउन थाले पनि साउन १४ मा पुनः आएको बाढीले काम अवरुद्ध गरिदिएपछि नाका बन्द भएको हो ।
उता तातोपानी सडक खण्डमा दैनिकजसो पहिरो झर्ने र भोटेकोशीले सडकको जमिन काट्ने समस्या भएकाले पनि सामान ल्याउन कठिन भएको छ । फलफूल जस्ता चाँडै बिग्रने सामान भने भरियामार्फत ल्याइए पनि कपडा, इलेक्ट्रोनिक्स, रेडिमेड डसना, झिलिमिली बत्ती जस्ता वस्तु ल्याउन सम्भव नभएको व्यापारीहरूको भनाइ छ ।
यस अवरोधले नेपालका बजारमा चाडपर्वकै समय चलायमान हुने व्यवसायिक गतिविधि सुस्त पार्ने देखिएको छ । सामान्यतया दशैं–तिहार अवधिमा देशको कूल अर्थतन्त्रको करिब ३५ प्रतिशत रकम बजारमार्फत परिचालन हुन्छ । तर यो वर्ष नयाँ सामान अभाव हुने र पुरानै स्टक प्रयोग गर्नुपर्ने बाध्यता आउँदा उपभोक्ता असन्तुष्ट हुने र व्यवसायीहरू बैंक ऋण तिर्न समेत कठिनाइमा पर्ने अवस्था बनेको छ ।
कारोबारमा देखिएको यो अवरोध दीर्घकालीन समस्या बन्ने हो कि भन्ने चिन्ता व्यापारीमा छ । उनीहरूले चीनसँगको व्यापारिक आवतजावतलाई भरपर्दो बनाउन स्थायी पूर्वाधार निर्माण र वैकल्पिक नाका व्यवस्थापन अब ढिला नगरी गर्नुपर्नेमा जोड दिएका छन् ।
तर दशैं आउन केही सातामात्र बाँकी रहेकाले यसपालीको दशैंमा व्यापारीहरूलाई उत्साह कम नै हुने देखिएको छ । अहिले सामान मानिसलाई बोकाएर ल्याउने काम भइरहेपनि यो निकै चुनौतिपूर्ण रहेको छ । बोकेर ल्याउँदा निकै न्यूनमात्रै सामान नाकाबाट पास हुने भएकाले समस्या कायम नै रहेको उनीहरू बताउँछन् ।
एकातिर जेनजी आन्दोलनपछिको हिंसाले क्षतविक्षत भएका उद्योगी व्यवसायीहरू अर्कोतिर नाकाबाट सामान भित्र्याउन नसक्दा समस्यामा परेका हुन् । नाका बन्द हुँदा नेपाल चीनबीचको व्यापार ठप्प छ । यसले व्यापारका साथै आर्थिक कारोबारमा समेत असर पारेको छ । सिमापार व्यापारमा संलग्न हजारौं मानिसको जीविकोपार्जनमा नकारात्मक प्रभाव पारेको व्यापारीहरू बताउँछन् ।
गत आर्थिक वर्ष २०८१÷८२ को तथ्यांकअनुसार तातोपानी नाकाको तुलनामा झण्डै दोब्बर रुपैयाँबराबरको मालसामान रसुवा नाकाबाट नेपालमा भित्रिएको थियो । यस्तै उक्त अवधीमा तातोपानी नाकामार्फत नेपालबाट निर्यात शून्य हुँदा रसुवा नाकाबाट भने थोरै भएपनि निर्यात भएको थियो ।
गत आर्थिक वर्षमा रसुवा नाकामार्फत ८५ अर्ब २३ करोड २३ लाख रुपैयाँबराबरको विभिन्न मालसामान चीनबाट आयात भएको थियो भने २ अर्ब ५ करोड रुपैयाँबराबरको विभिन्न सामान नेपालबाट चीनमा निर्यात भएको छ ।
यहि अवधिमा तातोपानी नाकाबाट भने ५० अर्ब ३९ करोड ५८ लाख रुपैयाँबराबरको विभिन्न सामान भित्रिँदा नेपालबाट भने त्यो नाकामार्फत शुन्य परिमाणमा निर्यात भएको थियो ।











