Logo
Logo

निजी क्षेत्रमाथि भीषण आक्रमणः फेरि उठ्ने उद्योगी व्यवसायीको उद्घोष


1.1k
Shares

काठमाडौं । भ्रष्टाचारको अन्त्य र सुशासनको प्रमुख माग राखेर नयाँ पुस्ता (जेन–जी)ले भदौ २३ र २४ गते आन्दोलन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली पदच्यूत भए । भदौ २३ गते प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकले जेनजीमाथि दमन गर्दा १९ जनाभन्दा बढीको ज्यान गयो । शान्तिपूर्ण आन्दोलनमाथि चर्को दमन नभएको भए यति ठूलो जनधनको क्षति नेपालले भोग्नुपर्ने थिएन ।

यो कुराको हेक्का नराख्दा दोस्रो दिनको आन्दोलन यति विध्वंशकारी साबित भयो, सरकारका महत्वपूर्ण तथा प्रशासनिक भवनहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका एकैपटक आगजनी भए । सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतमा मात्र आगजनी गरिएन, मन्त्री निवासदेखि नेताका घरसम्म र निजी क्षेत्रका उद्योग, प्रतिष्ठान, कार्यालय र निवासमाथि भएको भीषण आक्रमण भयो । विनोद चौधरीदेखि अन्य उद्योगी व्यवसायीको घर तथा व्यवसायिक भवनहरूमा आगजनी र तोडफोड गर्दा खर्बौंको क्षति भएको अवस्था छ ।

मंगलबार जेन–जी आन्दोलनका दौरान निजी क्षेत्रको लगानीमाथि भयानक आक्रमण गरियो । व्यवसायीका घर मात्र होइन्, उनीहरुको उद्यम र व्यापारिक प्रतिष्ठानलाई समेत लक्षित गरी आक्रमण गरे । यतिबेला व्यवसायीले आफ्नो प्रतिष्ठानमा के कति क्षति भयो आंकलनसम्म गर्न सक्ने अवस्थामा छैन । यो कहालीलाग्दो अवस्थाबाट निजी क्षेत्र त्रसित र शीथिल बनेको छ । तर पनि फेरि उठ्नु त छँदैन । निजी क्षेत्रले फेरि हातेमालो गर्दै उठ्नुको विकल्प नभएकाले त्यसका लागि वातावरण बनाउन सरकारलाई आग्रह गर्न थालेका छन् ।

काठमाडौं उपत्यकाका साथै, अन्य विभिन्न ठाउँमा रहेका ठूला अपार्टमेन्ट, डिपार्टमेन्ट स्टोर, अन्तराष्ट्रिय चेन होटल तथा व्यवसायिक अपार्टमेन्टहरूमा आगजनी तथा तोडफोड भएपछि अहिले बीमा दाबीका लागि प्रक्रिया पनि सुरू भएको छ ।

काठमाडौंलगायत क्षेत्रमा रहेका भाटभटेनी सुपरमार्केटका २१ ओटा स्टोर, हिल्टन होटेल, एनसेलको केन्द्रीय कार्यालय, ग्लोबल कलेज, थापाथलीस्थित सेन्ट्रल बिजनेश पार्क तथा थापाथली क्षेत्रमै रहेका हुन्डाई, सुजुकी र टाटा मोटर्सलगायत सवारीसाधन शोरुममा आगजनी भएको छ । त्यसैगरी, चौधरी ग्रूपको कारखाना, चन्द्रागिरि केबलकारको स्टेशन, मौलाकालिका केवलकार स्टेशन, थानकोटस्थित विशाल ग्रुपको स्टोर भवन, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छाको आवास, युलेन्स स्कुल लगायत संरचनामा समेत क्षति पुगेको छ ।

यीबाहेक अन्य उद्योगी तथा व्यवसायीका निजी घर तथा कर्पोरेट क्षेत्रका कयौं भवनहरूमा क्षति पुगेको छ । काठमाडौं बाहिर पनि व्यापारिक तथा निजी सम्पत्तिमा क्षति पुगेकाले दाबी रकम अझै बढ्न सक्ने बीमा कम्पनीका प्रतिनिधिहरू बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले आफ्नो परिवारसमेत प्रभावित भए पनि मनोबल नघटेको बताए । उनले भने, ‘देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस्, हामी अझै रोजगारी सिर्जना गर्न र लगानी बढाउन प्रतिबद्ध छौं ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले आफ्नो परिवारसमेत प्रभावित भए पनि मनोबल नघटेको बताए । उनले भने, ‘देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस्, हामी अझै रोजगारी सिर्जना गर्न र लगानी बढाउन प्रतिबद्ध छौं ।’

नाडा अटोमोबाइल्सका पूर्वअध्यक्ष ध्रुव थापाको पोखरास्थित घर जलाइएपछि परिवारजस्तै भएकी एक जना कर्मचारीको मृत्यु भएको छ । उनले यसलाई नियोजित अपराध ठहर गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

भाटभटेनी सुपरमार्केटका १२ ठूला स्टोर ध्वस्त भएका छन् भने ९ वटा लुटिएका छन् । बाँकी ७ वटा मात्र सद्दे छन् । मीनबहादुर गुरुङले सामाजिक सञ्जालमार्फत ‘दुःखद क्षण गुज्रिए पनि आशा हराएको छैन, भाटभटेनी फेरि उभिनेछ’ भन्ने सन्देश दिएका छन् ।

यस्तै भाटभटेनी सुपरमार्केटका १२ ठूला स्टोर ध्वस्त भएका छन् भने ९ वटा लुटिएका छन् । बाँकी ७ वटा मात्र सद्दे छन् । मीनबहादुर गुरुङले सामाजिक सञ्जालमार्फत ‘दुःखद क्षण गुज्रिए पनि आशा हराएको छैन, भाटभटेनी फेरि उभिनेछ’ भन्ने सन्देश दिएका छन् ।

उद्यमीको साझा आवाज : सुरक्षा सुनिश्चित गर

तोडफोड र आगजनीबाट गुज्रिएको निजी क्षेत्रले हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता सहित स्थिर लगानी वातावरण र शान्ति सुरक्षका लागि सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले अर्बौंको क्षति भएको उल्लेख गर्दै यस्तो आक्रमणले मुलुकको कुल गार्हस्थ उत्पादन र राजस्व संकलनमा असर गर्ने चेतावनी दिएको छ । तर, महासंघले युवाको चाहनाबमोजिम समुन्नतिको यात्रामा देश अगाडि बढ्ने अपेक्षा राख्दै शान्ति–सुरक्षा र स्थिर लगानी वातावरणको माग गरेको छ ।

नेपाल उद्योग परिसंघले सुशासन, पारदर्शिता र भ्रष्टाचार निवारणका मागलाई सम्बोधन गर्दै मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेको छ । यद्यपि, निजी सम्पत्तिमाथि भएको तोडफोडले लगानीकर्ता त्रसित भएको र विदेशी लगानीमै असर पर्ने चेतावनी पनि दिएको छ ।

नेपाल समुद्रपार निकासी पैठारी संघले आक्रमणलाई ‘इतिहासकै कहालीलाग्दो क्षण’ भन्दै दीर्घकालीन असर पर्न सक्ने चेतावनी दिएको छ ।

होटल क्षेत्रको ठूलो चोट
होटेल संघ नेपाल (हान)का अनुसार एक दिनको आन्दोलनले मात्र होटल उद्योगमा २५ अर्ब रुपैयाँ बराबरको क्षति पु¥याएको छ । करिब दुई हजारभन्दा बढी कामदार–कर्मचारी रोजगारी गुमाउने जोखिममा छन् । बैंक–वित्तीय दायित्व तिर्न कठिन हुने अवस्था आएको हानले जनाएको छ ।

हानले शक्तिशाली न्यायिक समितिबाट छानबिन, अपराधीलाई दण्ड तथा उचित क्षतिपूर्ति दिलाउन माग गरेको छ । साथै, पुनर्निर्माण र लगानीकर्ताको मनोबल कायम राख्न राज्यले विशेष आर्थिक प्याकेज ल्याउनुपर्ने जोड दिएको छ ।

५० अर्बभन्दा बढी माग दाबी हुन सक्ने
२०७२ सालको महाभूकम्पमा भन्दा धेरै भवन तथा आवासमा क्षति भएको निजी क्षेत्रले बताएको छ । तीमध्ये बीमा गराएका अधिकांश निजी भवन तथा आवासको क्षतिपश्चात बीमा कम्पनीमा रकम दाबी गर्ने प्रक्रिया शुरू भइसकेको छ । बीमा प्राधिकरणले पनि यथाशीघ्र दाबी भुक्तानी गर्न कम्पनीहरूलाई निर्देशन दिइसकेको छ ।

२०७२ को भूकम्पमा करीब १८ अर्ब रुपैयाँ दाबी भुक्तानी परेकोमा अहिलेको क्षति त्यसको दोब्बर भन्दा बढी अनुमान गरिएको छ । बीमा कम्पनीका प्रतिनिधिहरूले करीब ५० अर्ब रुपैयाँ हाराहारी दाबी पर्न सक्ने बताएका छन् ।

यति ठूलो रकम दाबी नेपालका निर्जीवन बीमा कम्पनी तिर्न सक्षम छन् त भन्ने संशय पनि पैदा भएको छ । तर भूकम्पदेखि बाढीपहिरोसम्मका विपत्का घटनामा कौशलतापूर्वक दाबी भुक्तानी सम्पन्न गरेका कम्पनीहरूले यो क्षतिपछिको भुक्तानी पनि सहज तरिकाले नै गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरूले आव २०८१/८२ मा १७ अर्ब हाराहारी रकम दाबी भुक्तानी गरेका थिए । यसअघि आव २०८०÷८१ मा २० अर्ब ७१ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका थिए । भूकम्पपछि बीमा कम्पनीहरूलाई जेनजीको प्रदर्शनले ठूलो भार सिर्जना गर्नेछ । तर कम्पनीहरूले बीमा दाबी भुक्तानीका लागि कम्पनीहरू सक्षम रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्