Logo
Logo

ऊर्जा जलस्रोतको सरुवा बदर हुने


2.8k
Shares

काठमाडौं । जेनजी समूहको आन्दोलनपछि देश अर्कै कोर्षमा गइसकेको छ । जेनजी समूहको प्रदर्शन चलिरहेको बेलामा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले आर्थिक लाभका आधारमा गरेका सरुवा बदर गर्न मुख्यसचिव एकनारायण अर्यालले ऊर्जा मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।

मुख्यसचिव अर्यालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीलाई सरुवा बदर गर्न निर्देशन दिइसकेका छन् ।

मन्त्री नियुक्ति भएदेखि नै सरुवादेखि ठेक्का आर्थिक लाभका आधारमा गर्दैआएका खड्काले १६ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा गरेका थिए ।

त्यसैगरी, दीपक खड्काको निर्देशन अनुसार विद्युत प्राधिकरणले गएको भदौ २० र २२ गते गरेको सरुवा तथा पदस्थापना सम्बन्धी निर्णय कार्यान्वयन नगर्ने घोषणा गरिसकेको छ ।

त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १८ भदौमा गरेको ५६ सीडीईहरुको सरुवा समेत बदर हुने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले लगातार कार्यालय प्रमुख भएकालाई पुनः कार्यालय प्रमुखमै सरुवा गरेकोमा बिवा भइरहेको छ ।

नुवाकोट डिभिजनको प्रमुख रहेका डीई सुबोधकुमार देवकोटालाई झन् आकर्षक काठमाडौंको प्रमुखमा सरुवा गरिएको छ । देवकोटा कांग्रेसनिकट ट्रेड युनियनको आडमा बिगत १० बर्षदेखि अरबौंका सडक आयोजनादेखि डिभिजनको प्रमुख छन् । इन्जीनीयर हुँदादेखि नै उनी सडकका आकर्षक कार्यालयको प्रमुख छन् । त्यसो त भक्तपुरमै थमौती भएका सुमनकुमार योगेश, काठमाडौंबाट चरिकोट डिभिजनमा सरुवा भएका नारायण भण्डारी पनि आकर्षक कार्यालयमै रजगज गर्नेमै पर्दछन् ।

त्यसैगरी, सहरी विकास मन्त्रालयले विभिन्न डिभिजन कार्यालयमा गरेको सरुवा पनि बदर हुने भएको छ । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव नारायण मैनालीले दररेट तय गरेर सरुवा गरेको भन्दै सहरी बिकास तथा भवन निर्माण बिभागका इन्जीनीयर डीईहरुमा असन्तुष्टि ब्याप्त छ । राम्रो प्रगति हासिल गरेका संघीय सहरी आयोजना कार्यालयका डीईहरु समेत सरुवा गरिएको छ ।

सहरी विकास मन्त्रालयका एक अधिकारीले अनुसार अघिल्लो मन्त्रीको पालामा गरिएको सरुवा कार्यान्वयन नहुने करिब करिब निश्चित भएको बताए । मन्त्रालयले गरेको सरुवा बेथितिपूर्ण रहेको र धेरैजसो कर्मचारीहरुको सरुवा अन्यापूर्ण थियो । कतिपयलाई ५–६ महिनामै सरुवा गरिएकाले पनि रद्द हुनसक्ने ती अधिकारी बताउँछन् ।

सहरी विकास मन्त्रालयले भदौ अन्तिममा २६ जना उपसचवि सरहका डिभिजन इञ्जिनियरलाई एउटा कार्यालयबाट अर्को कार्यालयमा सरुवा गरेको थियो ।

सरुवा गरिएका कर्मचारीमध्ये केहीले पत्र बुझिसकेका छन् भने कतिपयले बुझ्न बाँकी छ । कतिले त रमाना पत्र पनि बुझेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्