
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको आज अन्त्येष्टि गरिँदै छ । मृतक रसिक खतिवडा लगायत १० जनाकाे शवयात्रा निकाल्न लागिएकाे हाे ।
१० शवमध्ये ६ वटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र बाँकी ४ जनालाई पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सामूहिक अन्त्येष्टि गरिने छ। विमानस्थल पुर्याइने शव उपत्यकाबाहिरका भएकाले गृहजिल्ला लगेर अत्येष्टि गरिने भएको हो।
शवयात्राका लागि आएकाहरुले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन् । कतिपयले ‘निःसन्तानलाई के थाहा जेनजीको सपना ?’ लेखिएको कपडाले शरीर छोपेका छन् । उनीहरु शोकमग्न अवस्थामा देखिन्छन् ।
सरकारले आन्दोलमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेपछि मृतकका परिवार अन्त्येष्टि गर्न तयार भएका हुन् ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शन हिंसात्मक बन्दा हालसम्म ७२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो गोली लागेकाहरु छन् । कतिपयका शव आगोमा जलेको अवस्थामा भेटिएका छन् ।
शवहरु संकलन गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । त्यहाँ पोष्टमार्टम गरी शवको पहिचान भएपछि आफन्तको जिम्मा लगाउने गरिएको छ ।














