Logo
Logo

ओली र प्रचण्डबीच कार्यविभाजनबारे छलफल, शुक्रबार सहमति हुने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ भदौ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच कार्यविभाजनबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डलाई कार्यकारी अध्यक्षको अधिकार दिने विषयमा केन्द्रीत थियो ।


शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकका लागि दुवैले आ–आफ्नो कार्यविभाजनसहितको सहमतिको प्रस्ताव तयार पारेका छन् । पार्टी विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमा परिमार्जन गर्दै ओली र प्रचण्डले तीन महिना लामो पार्टी विवाद टुंगाउने १५बुँदे प्रस्ताव तयार पारेका हुन् ।
सदस्यहरूलाई इमेलमा पठाइएको प्रस्तावमा स्थायी कमिटीका लागि पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्रमा काम गर्ने, एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने, सरकारको कामबारे थप काम गर्ने र संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने बुँदा छन् ।

यसबाहेक प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा गर्ने काम, कोभिड– १९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनरुत्थान गर्ने, बाढी–पहिरोद्वारा सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानहरूको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्ने र मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौतालाई स्थायी कमिटी बैठकको एजेन्डा बनाइएको छ ।
बुधबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे समेत छलफल भएको स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस्