काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जेनजी आन्दोलनले पुराना पार्टी र तिनको नेतृत्वको औचित्य सकिएको बताएका छन् ।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीनामा समेत मागेका छन् । जेनजी युवा आन्दोलनले सकारात्मक सन्देश दिएकाले भन्दै अब पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।
पछिल्लो समय नेकपा माओवादीमा रुपान्तरणको बहस चलिरहेको छ । यसैबेला शर्मा पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने निष्कर्षमा पुगेका हुन् । उनले यस विषयमा पार्टी पंक्तिमा छलफलसमेत चलाउन सुरु गरेका छन् ।
‘जेनजी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति र संस्कृतिमाथि प्रहार गरेको छ, नयाँ नेतृत्व खोजेको छ, त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ’ शर्माको भनाइ उदृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘अहिलेको परिस्थितिमा पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ ।’
भ्रष्टाचार र सुशासनका मागसहित जेनजी युवाले भदौ २३ गते काठमाडौंमा प्रदर्शन गरेका थिए । युवाहरुको प्रदर्शनले नयाँबानेश्वरको प्रहरी घेरा तोड्दै संसद् भवन पुगेपछि हिंसात्मक बनेको थियो । त्यसको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए ।
जताततै आगजनी र झडप भएपछि नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलसहित, प्रधानमन्त्री केपी शर्मा ओली र सबैजसो राजनीतिक दलका शीर्ष नेता तथा मन्त्रीहरुलाई हेलिकप्टरमार्फत् उद्धार गरेको थियो ।
पार्टी शीर्ष नेताहरुको कार्यशैली, जीवनशैली र नेतृत्वमा प्रश्न उठाउँदै आएका उपमहासचिव जनार्दनले जेनजी आन्दोलनले लोकतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको समेत बताएका छन् ।
उनले पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्ने जनाएका छन् । जेनजी आन्दोलनबारे गरेको संश्लेषण र विगतदेखि पार्टीमा उठाउँदै आएका मागबारे पुनः पार्टी पंक्तिमा छलफल थालेका उनले गत साउनमा बसेको केन्द्रीय समिति बैठकमा पनि प्रचण्डमाथि प्रश्न उठाएका थिए । तर, त्यसलाई बहुमतले अस्वीकृत गरेको थियो ।














