काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार जाँदै छन् । जेनजी आन्दोलनपछि बनेको सरकारसँग निकट सम्बन्ध बनाउन भारतले राजदूतलाई सिंहदरबार पठाउन लागेको हो । प्रधानमन्त्री कार्की र भारतीय राजदूत श्रीवास्तवबीच आज (मङ्गलबार) अपराह्न चार बजे भेट हुँदै छ ।

भारतीय दूतावासले प्रधानमन्त्रीसँग राजदूतको भेटघाट गराउन दिउँसो चार बजेको समय लिएको जनाइएको छ । भेटघाट क्रममा राजदूत श्रीवास्तवले कार्कीलाई बधाई ज्ञापन गर्ने जनाइएको छ ।
भारतले नै नेपालकी प्रधानमन्त्री कार्की र उनका समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता गराउन खोजिरहेको छ । कार्कीले प्रधानमन्त्री नियुक्त हुनुअघि नै भारतसँग आफ्नो राम्रो सम्बन्ध रहेको र मोदीबाट प्रभावित भएको बताएकी थिइन् । कार्की प्रधानमन्त्री नियुक्त भएपछि पहिलो बधाई पनि भारतले नै दिएको थियो ।














