काठमाडौं । जेनजी युवाको प्रदर्शनक्रममा उद्योग–व्यवसायमा पुगेको क्षति तथा त्यसबाट उत्पन्न समस्याबारे अर्थमन्त्री रामेश्वर खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल भएको छ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स एण्ड कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एशोसिएसन, चौधरी ग्रुप, भाटभटेनी ग्रुपलगायतका उद्योग–तथा व्यवसायीहरूको सहभागिता रहेको थियो ।
निजी क्षेत्रका प्रतिनिधिले नवनियुक्त अर्थमन्त्री खनाललाई बधाई दिँदै उद्योग–व्यवसायको सुरक्षा, प्रवद्र्धन तथा लगानी प्रोत्साहनका लागि सरकारले विश्वस्त तुल्याउनुपर्ने आग्रह गरेका थिए ।

उनीहरुले प्रदर्शनका क्रममा उद्योग–व्यवसायमा भएको क्षतिको राहतस्वरूप कर सहुलियत, सहुलियतपूर्ण कर्जा तथा बिमा रकम तत्काल भुक्तानी हुने व्यवस्था मिलाउन माग गरेका थिए । सरकार, राजनीतिक दल, पत्रकार र नागरिक समाजले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आवश्यक रहेको उनीहरुले बताएका थिए ।
छलफलमा सहभागी अर्थसचिव घनश्याम उपाध्यायले दशैँबाहेक अन्य सार्वजनिक बिदाका दिनमा पनि बैंक तथा भन्सार खुला रहने र पहिरोले अवरुद्ध तातोपानी नाका खुलाउन सरकार सक्रिय रहेको जानकारी दिए ।
त्यसअघि अर्थमन्त्री खनालले अटो सेक्टर थापाथली, भाटभटेनी सुपरस्टोर कोटेश्वर, अन्नपूर्ण र कान्तिपुर मिडिया हाउस तथा ट्राफिक प्रहरी कार्यालयमा पुगेको क्षतिको अवलोकन गरेका थिए । त्यसबारे जानकारी दिँदै उनले सार्वजनिक र निजी क्षेत्रका क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि कोष खडा गर्ने निर्णय भइसकेको बताए ।
मन्त्री खनालले उद्योग–व्यवसायीको समस्या सरकारकै समस्या भएको उल्लेख गर्दै यसबाट बाहिर निस्कन ‘एकीकृत व्यापार रिकभरी योजना’ ल्याइने जानकारी दिए । साथै, कर तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतबारे पनि सरकार सकारात्मक रहेको बताउँदै उनले अबका दिनमा नागरिकले सरकारको अनुहार सेवा प्रवाहमार्फत अनुभव गर्न सक्ने वातावरण बनाउन सबै सार्वजनिक निकायलाई निर्देशन दिइसकिएको जानकारी दिए ।














