Logo
Logo

भयंकर संकटमा एमाले, तर पद छाड्न तयार छैनन् ओली


9k
Shares

काठमाडौं । जेन–जी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकारको पतन भएसँगै मुलुक नयाँ राजनीतिक यात्रामा अघि बढेको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ। प्रधानमन्त्रीको शपथ लिए लगत्तै कार्कीले प्रतिनिधिसभा विघटन गर्दै आगामी २१ फागुनमा आम निर्वाचनको मिति घोषणा गरेकी छन्।

तर, अन्तरिम सरकार गठन हुनु अघि मुलुकको नेतृत्व गरिरहेको नेकपा एमाले भने गम्भीर संकटमा फसेको छ। पार्टीभित्रै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आवाज उठिरहेको छ। पुनर्गठनको माग समेत खुलेरै आउन थालेको छ।

२४ भदौमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली त्यसयता सार्वजनिक रुपमा देखिएका छैनन् । नेताहरूले उनी सैनिक ब्यारेकमा रहेको बताउँदै आए पनि, कुन ब्यारेकमा छन् भन्नेबारे जानकारी दिइएको छैन ।

पार्टीभित्र सीमित नेताहरूसँग मात्र सम्पर्कमा रहेको बुझिएको छ । महासचिव शंकर पोखरेलका वक्तव्यलाई नै पार्टीको आधिकारिक धारणा मानिने स्थिति आएको छ।

तर पोखरेलका बयानहरूमा पनि स्पष्टता र स्थिरता छैन । कार्की नेतृत्वमा सरकार गठन भएलगत्तै उनले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका थिए । ‘विगतमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भनेर मुद्दा हाल्ने र फैसला सुनाउनेहरू आज संसद् विघटनमै अग्रसर हुनु विडम्बनापूर्ण हो । सतर्क रहौं, खबरदारी गरौं,’ उनले लेखेका थिए।

उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे लगायतका नेताहरूले ओलीको राजीनामाको माग गरिसकेका छन् । केन्द्रीय सदस्य तथा अन्य नेता–कार्यकर्ताले पनि खुला रूपमा ओलीले नेतृत्वबाट हट्नुपर्ने धारणा सार्वजनिक गरिरहेका छन् ।

ओलीले आफू अनुकूल विधान संशोधन गरेर ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाएका थिए, तर त्यसको दुई दिनमै प्रधानमन्त्री पद गुमाउनुपर्‍यो । अहिले पार्टी नेतृत्व पनि गुमाउने दबाबमा छन् ।

सचिव योगेश भट्टराई भन्छन्, ‘यति ठूलो राजनीतिक उथलपुथलपछि नेतृत्व र संगठन नबदलिँदासम्म एमालेले पार पाउँदैन ।’

कुनै समय ओलीका निकट रहेका नेता गोकुल बाँस्कोटाले लेखेका छन्, ‘अरू क्षति रोक्न जे भो–भो । हैन, किन भो, कसरी भो र अब के गर्ने ? छिटो, तर सुविचारित निर्णय गरौं। दलविना गणतन्त्र बाँच्दैन। गणतन्त्रविना समाज र समय पनि बन्दछ। नेतृत्व फेरिनैपर्छ।’

महेश बस्नेतले पनि परिवर्तनको आवाजमा ऐक्यबद्धता जनाउँदै लेखेका छन्, ‘डराएर घरभित्र लुकेर बस्ने सुतुरमुर्गहरूलाई अब विदा गरौं। नयाँ नेतृत्व खडा गरौं र स्थापित गरौं ।’

विद्रोहको तयारी
जेन–जी आन्दोलनपछि एमालेभित्रै ठूलो विद्रोहको तयारी भइरहेको छ । कार्यकर्ताहरूले अध्यक्ष ओली र महासचिव पोखरेललाई पार्टी नेतृत्वबाट हटाउन दबाब दिइरहेका छन्।

पार्टीभित्र माथिल्लो पुस्ताले ओलीलाई बोकेर अघि बढ्ने प्रयास गरिरहेका बेला कार्यकर्ताहरूले अब उनीहरूलाई विश्राम दिनुपर्ने भन्दै विद्रोहको सुरुआत गर्न लागेका हुन् ।

विशेष गरी महासचिव पोखरेलले विष्णु रिमाल, प्रदीप ज्ञवाली र भानुभक्त ढकाल जस्ता गुटीय नेताहरूसँग मात्र छलफल गरेर पार्टी चलाउन खोजेको भन्दै आलोचना बढेको छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग नजिक रहेका नेताहरूले समेत पार्टी पुनर्गठनको माग उठाएका छन् । योगेश भट्टराई, ठाकुर गैरे, यज्ञराज सुनुवार, झपट रावललगायत नेताहरू पुनर्गठन अभियानमा सक्रिय छन्।

पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नेतृत्वमा ल्याएर पार्टी पुनर्जीवन अभियान सुरु गर्ने तयारी भइरहेको छ। केही नेताहरूले सुरेन्द्र पाण्डेलाई पनि अध्यक्षको विकल्पका रूपमा अघि सारिरहेका छन्।

एमाले केन्द्रीय सदस्य ईश्वरी जीएमले सामाजिक सञ्जालमा शाक्यको तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘बेदाग र आदर्श व्यक्तित्व अष्टलक्ष्मी शाक्य दिदी, जनतामा पुनर्गठित पार्टीको अभियान लैजान शाक्यज्यू नेतृत्वको उपयुक्त पात्र हुनुहुन्छ ।’

अध्यक्ष ओली पार्टीभित्र मात्र होइन, जनताबीच पनि अस्वीकार्य बन्दै गएका संकेतहरू देखिन थालेका छन् ।

त्यसो त अन्य दलहरुमा पनि नेतृत्व हस्तान्तरणको कुरा उठिरहेको छ । तेस्रो तहका नेताहरू पहिलो र दोस्रो पुस्ताका नेताहरूले राजनीतिबाट बिदा लिनुपर्ने बताइरहेका छन् । तर, दलका प्रमुख नेताहरूले भने अहिलेसम्म पुस्तान्तरणका बारेमा कुनै अभिव्यक्ति दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्