काठमाडौं । ‘हामी नेपाल’का संयोजक तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङमाथि बुधबार एक समूहले आक्रमणको प्रयास गरेका छन् । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले निकट दावी गर्ने समूहले आफूलाई आक्रमणको प्रयास गरेको गुरुङले जनाएका छन् ।

गुरुङका अनुसार, मंगलबारदेखि नै उनलाई एक अपरिचित समूहले पछ्याइरहेको थियो । बुधबार रानीबारीदेखि नयाँ बानेश्वरसम्मका विभिन्न स्थानमा पल्सर र होन्डा बाइकमा सवार समूहले उनलाई पछ्याएको उनले बताएका छन् । गुरुङले केही कारहरु पनि त्यस समूहमा संलग्न रहेको बताएका छन् ।
बस्नेतले गुरुङलाई विदेशी दलालको संज्ञा दिँदै आएका छन् । केही दिनअघि उनले सामाजिक सञ्जालमा लेख्दै ओरिजिनल बाउको छोरा वा आमाको दूध खाएको भए आफूले बोलेको कुरा गरेर देखाउन चुनौती दिएका थिए ।
बस्नेतले मिसन प्रेरित पैसा कमाउनका लागि जेन जी आन्दोलनमा मिनरल वाटर बाँडेको आरोप लगाएका छन् । उनले लेखेका थिए– ‘यो केटो त ठूलो ठूलो कुरा गरेर दलका नेतालाई घरमै थुन्ने धम्की दिन पो थालेछ ! अरे ओरिजिनल बाउको छोरा हस् भने,आमाको दूध खाको छस् भने गरेर देखाऊ’ उनै बस्नेतले सुदनलाई कुनै हैसियत नभएको जनाउँदै लेखेका छन्,‘दलका नेता थुन्ने त के हाम्रो पछाडि लागेर झिँगा धपाउने हैसियत पनि छैन,बाबु तिम्रो !’














