तानसेन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको ६१ प्रतिशत भौतिक र ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । सुरुङ ब्रेक थ्रु भइसकेपछि काममा तीव्रता आएको हो ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ मा निर्माण भइरहेको १,१२६ मिटर सुरुङमध्ये १,०८९ मिटर टनेल पूरा भइसकेको छ। सुरुङको भित्री पर्खाल लाइनिङ, इन्भर्ट र ढलानको काम सकिएको आयोजनाका प्रमुख दूध अधिकारीले जानकारी दिए ।
उत्तर र दक्षिण पोर्टलसहित हेलिप्याड निर्माण कार्य पनि जारी छ। आगामी पाँच–सात महिनामा सवारीसाधन सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले रु ७ अर्ब ३४ करोड लागतमा ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको यो सुरुङमार्ग पहिरो प्रभावित क्षेत्र सुरक्षित बनाउन निर्माण गरिएको हो ।














