मुस्ताङ । जोमसोम–कोरला राजमार्ग अन्तर्गत उपल्लो मुस्ताङको चराङमा पहिलोपटक चार्जिङ स्टेसन स्थापना गरिएको छ ।

चार्जिङ स्टेसनको औपचारिक उद्घाटन लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले गरे ।
अध्यक्ष विष्टले यो चार्जिङ स्टेसनको सुरुवातपछि अब उपल्लो मुस्ताङ र कोरला नाकासम्म विद्युतीय सवारीसाधन चलाउन सहज भएको बताए । यसअघि जोमसोमदेखि माथिल्लो क्षेत्रमा चार्जिङ सुविधा नभएकाले यात्रुहरूले आफ्नो विद्युतीय सवारी जोमसोममै छोड्न बाध्य थिए ।
चार्जिङ स्टेसन ओमडा एण्ड जेको नेपाल कम्पनीले स्थापना गरेको हो । कम्पनीका प्राविधिक कृष्ण पोखरेलका अनुसार, अहिले नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइन त्यहाँसम्म नपुगेकाले हाललाई सामान्य चार्जिङ स्टेसन सञ्चालन गरिएको हो ।
उनले स्थानीय जनप्रतिनिधि र सरोकारवालासँगको छलफलपछि चार्जिङ स्टेसन स्थापना गरिएको जानकारी दिए । चार्जिङ स्टेसन स्थापनासँगै स्थानीयस्तरमा रोजगारी सृजना हुनुका साथै पर्यावरणमैत्री प्रविधिको प्रयोगमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।














