बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ‘पुतना दहन’ अर्थात् बूढी पोल्ने पर्व आज परम्परागत शैलीमा मनाइएको छ।

बैतडी, डडेल्धुरा, डोटी, बझाङ, अछाम लगायतका जिल्लामा यो पर्व असोज सङ्क्रान्तिको अवसर पारेर विशेष उल्लासका साथ मनाइन्छ।
संस्कृतिविद् जयानन्द भट्टका अनुसार यो पर्व भगवान श्रीकृष्णद्वारा राक्षसी पुतनाको वध गरेको विजय उत्सवको रूपमा मनाइन्छ। द्वापरयुगमा बालकहरूलाई विषालु दूध खुवाएर मार्ने प्रयास गर्ने पुतनालाई श्रीकृष्णले मारेर मानव समाजलाई राक्षसी प्रवृत्तिबाट मुक्त गराएको सम्झनामा पुतनाको प्रतीकस्वरूप बनाईएको ‘बूढी’ को दहन गरिन्छ।
पर्वको तयारी भाद्र सङ्क्रान्तिदेखि नै सुरु हुन्छ। गोठालाहरूले गोठमा पुतनाको प्रतीमा राखेर दैनिक रूपमा सल्लाको हाँगा थप्दै ‘बूढी हाल्ने’ चलन पालना गर्छन्। आज साँझ त्यसलाई दोबाटोमा लगेर सामूहिक रूपमा आगो लगाइन्छ। प्रत्येक घरबाट राँको लिएर सहभागी हुने यो परम्परा सामुदायिक एकताको प्रतीक पनि मानिन्छ।
पुतनाको प्रतीक जलेपछि बाँकी खरानी गाईको निधारमा तिलक लगाउने चलन छ। यसो गरेमा पशुहरूमा रोगव्याधि नलाग्ने धार्मिक विश्वास रहिआएको छ।
पहिले रातभर देउडा गीत गाएर मनाइने यो पर्व पछिल्ला वर्षहरूमा आधुनिकता र युवाहरूको चासोको कमीका कारण अलि मन्द हुँदै गएको संस्कृतिविद्हरू बताउँछन्। तथापि, अझै पनि ग्रामीण समुदायमा यो पर्वले सामुदायिक र सांस्कृतिक चेतना जागृत गराउँदै आएको छ।














