गाजा । इजरायली सेनाले गाजा सहरमाथि ठूलो स्तरको स्थल आक्रमण सुरु गरेपछि हजारौं प्यालेस्टिनीहरू आफ्नो घर छोड्न बाध्य भएका छन् ।

इजरायलले हमासको अन्तिम गढ मानिने क्षेत्रमा तीन हजार लडाकुलाई परास्त गर्ने र आफ्ना बन्धकहरूलाई मुक्त गर्ने लक्ष्य राखेको जनाएको छ ।
रातभरि जारी भारी बमबारीका क्रममा हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले तीन फरक स्थानमा बाल अस्पतालमाथि आक्रमण भएको जानकारी दिएको छ । यसका कारण अस्पतालका आधा बिरामी र उनका परिवार भाग्न बाध्य भएका छन् । इजरायली सेनाले उक्त घटनाको छानबिन गरिरहेको जनाएको छ । यसअघि इजरायली सेनाले दुई दिनमा गाजा सहरका १५० भन्दा बढी ‘आतङ्कवादी लक्ष्यहरू’ मा आक्रमण गरेको घोषणा गरेको थियो ।
कतारले इजरायली कारबाहीलाई कडा रूपमा निन्दा गर्दै यसलाई प्यालेस्टिनी जनताको विरुद्ध ‘नरसंहार र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’ भनेको छ । कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायलले शान्तिको सम्भावना कमजोर पार्ने काम गरिरहेको र यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको उल्लेख छ ।
साथै, कतारले द्वि-राज्य समाधानका लागि अन्तर्राष्ट्रिय एकता र सहयोग आवश्यक रहेकोमा जोड दिएको छ ।











