Logo
Logo

चाडपर्वमा यात्रुको सहजता : उपत्यकामा १५ सहायता कक्ष स्थापना


378
Shares

काठमाडौँ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने तयारी भइरहेको छ ।

यस पहलमार्फत उपत्यका बाहिर जाने यात्रुहरूको सहज आवतजावत सुनिश्चित गर्दै सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार नयाँ बसपार्क, नागढुङ्गा, कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र साँगामा भोलिदेखि यात्रु सहायता कक्ष सञ्चालनमा आउनेछ ।

सिप्रदी र नाडाको सहयोग तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा स्थापना हुने यी कक्षहरूमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र व्यवसायीको संयुक्त टोली परिचालित हुनेछ। टोलीले तोकिएको भाडादरभन्दा बढी लिने, दुईजना चालक नभएको, क्षमताभन्दा बढी यात्रु राख्ने र टिकट कालोबजारी गर्नेजस्ता अनियमितता जाँच्नेछ।

यात्रु सहायता कक्षले प्रत्येक टिकट काउन्टरमा भाडादर टाँस्न लगाउने तथा यात्रुहरूको गन्तव्यसम्म सुरक्षित र व्यवस्थित यात्रा सुनिश्चित गर्न निगरानी गर्ने ट्राफिक प्रहरीले जनाएको छ। यसरी यात्रुको सुरक्षामा वृद्धि गर्दै चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्