
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबिच आज फोन वार्ता हुँदै छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज प्रधानमन्त्री कार्की र मोदीबिच भिडिओ संवाद हुने भएको हो ।
यसअघि मङ्गलवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए । भेटमा राजदूत श्री वास्तवले नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गरिरहेको र आगामी दिनमा पनि यो जारी रहने प्रतिबद्धता जनाएका थिए ।
साथै उनले विकास, पुनः निर्माणमा सघाउने उल्लेख गर्दै भारत नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा रहेको बताए ।
भारतीय राजदूतमार्फत प्रधानमन्त्री कार्कीले पारस्परिक हितका विषयमा विस्तृतमा छलफल गर्ने जवाफ दिएका थिए । त्यसअनुसार आज भारतका प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री कार्कीले भिडिओमा वार्ता गर्ने भएका हुन् ।
यसअघि मोदीले कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै बधाई दिँदै नेपालको समृद्धिको कामना गरेका थिए भने मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको असामान्य अवस्थामा नागरिक सरकार गठन हुन सकेकामा स्वागत गरेका थिए ।














