Logo
Logo

सर्वोच्च अदालत : जलेको भवनअगाडि पालमुनिबाट इजलास सञ्चालन सुरु


378
Shares

काठमाडौं । सर्वोच्च अदालतमा आगजनीबाट भवन र भौतिक संरचना जलेर नष्ट भएपछि, पालमुनि इजलास सञ्चालन सुरु गरिएको छ ।

आजदेखि सर्वोच्च अदालतको प्रवेशद्वारबाहिर टाँगिएको पालमुनि काठका टेबल/ कुर्सी राखेर अस्थायी रूपमा इजलास सञ्चालन भएको हो । एकातर्फ न्यायाधीश, अर्कातर्फ कानुन व्यवसायी र बीचमा इजलास अधिकृत बस्ने गरी इजलास सञ्चालन गरिएको छ।

आज न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलास बसेको थियो। रेग्मीको इजलासमा दुईवटा र मल्लको इजलासमा एउटा बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गरिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार , गत भदौ २४ गते जेनजी प्रदर्शन’का क्रममा सर्वोच्चसहित देशभरका २३ वटा अदालतमा आगजनीभई क्षति पुगेको हो । केही अदालत पूर्णरूपमा र केही आंशिक रूपमा क्षतिग्रस्त छन् ।

इजलास सञ्चालन गर्ने ठाउँ नभएपछि पालमुनिबाटै न्यायिक प्रक्रिया अघि बढाइएको हो , कोइरालाले जानकारी दिए ।

आगजनीका कारण सूचना प्रविधि उपकरण , सवारीसाधन र मुद्दाका मिसिलहरू समेत नष्ट भएका छन् । केही अदालतका मिसिल पूर्णरूपमा नष्ट भएका छन् भने केहीमा आंशिक रूपमा बाँकी रहेका छन् ।

प्रवक्ता कोइरालाका अनुसार, पूर्णरूपमा नष्ट भएका मिसिलहरू पुनः निर्माण गर्ने प्रक्रियाका लागि निर्देशनसहित निर्देशिका बनाउने निर्णय गरिएको छ। हाल सर्वोच्च अदालतमा करिब २६ हजार मुद्दा विचाराधीन छन् ।

प्रतिक्रिया दिनुहोस्