Logo
Logo

जेन-जी आन्दोलनपछि नेप्से ६ प्रतिशतले घट्यो  


378
Shares

काठमाडौं । भदौ २३ र २४ गतेको ध्वंसात्मक घटनापछि खुलेको सेयर बजारमा बिहीबार तीन पटक नेगेटिभ सर्किट ब्रेक लागेपछि कारोबार स्थगित भएको छ । बजार दिनभरमा ६ प्रतिशतले घटेको हो । जेन-जी पुस्ताका युवाहरूले सरकार परिवर्तन गर्नेगरी गरेको आन्दोलनको नराम्रो प्रभाव बिहीबार पुँजीबजारमा देखिएको हो ।  

The current image has no alternative text. The file name is: share-market.jpg

२२६ वटा कम्पनीको मात्रै सेयर कारोबार हुँदा १६०.३३ अङ्कले घटेर नेप्से २५११.३३ अङ्कमा झरेको छ । बिहीबार कारोबार भएका कम्पनीमध्ये २१७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ९ वटा कम्पनीको सेयर मूल्य मात्रै बढ्यो ।

बिहीबार अन्तिम सर्किट लागेर बजार बन्द हुनेबेलासम्म ७२ करोड ८७ लाख दुई हजार ८३० रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।आजको कारोबारमा व्यापार समूहमा सबैभन्दा धेरै ९.४३ प्रतिशत अर्थात् ३६४.६४ अङ्कले पहिरो गएको छ ।

खुलेको २ मिनेटमै सेयर बजार नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि ११:२३ बजे थप १ प्रतिशत (कुल ५ प्रतिशत)घटेपछि दोस्रो सर्किट ब्रेक लाग्यो । १२:०४ बजे पुनः खुलेको बजारमा फेरि १ प्रतिशत (कुल ६ प्रतिशत) घटेपछि तेस्रो सर्किट ब्रेक लाग्यो र कारोबार बन्द गरियो । नेप्से २५११ को विन्दुमा पुगेको छ । 

भदौ २३-२४ को हिंसात्मक घटनाले संसद् भवन, सिंहदरबार र बालुवाटारमा आगजनी र कब्जा भयो । प्रतिनिधिसभा भङ्ग गरी शुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

लगानीकर्ताले त्रासले बजार अस्वाभाविक रूपमा घट्न सक्ने जोखिम औँल्याएका छन् । विगतमा भूकम्प र नाकाबन्दीपछि बजार छोटो समयमै सम्हालिएको उदाहरण पनि छ । २०७२ को भूकम्पपछि बजार १ महिना बन्द भएर खुल्दा ९४० बाट ८३० अङ्कमा झरेको थियो, तर भदौ २९ मा १२०० पुग्यो । नाकाबन्दीले आयात ठप्प हुँदा सेयर बजारमा पैसा भित्रिएर २०७३ साउनमा १८८१ अङ्कको रेकर्ड बनेको थियो । कोरोना महामारीमा पनि बजार लामो समय बन्द भएर खुलेपछि २०७८ भदौमा ३१९८ अङ्कको रेकर्ड बनेको थियो । 

आगामी फागुन २१ को चुनाव र राजनीतिक अस्थिरताले बजार प्रभावित बनेको छ । नेपालको पूजीँ बजार सधैँ जसो हल्लाको भरमा चल्ने गरेको जानकारहरू बताउँछन् । कोरोना र भूकम्पको समयमा लगानी गरेर धैर्य गर्नेहरूले सोचे जस्तै कमाएका पनि थिए । 

प्रतिक्रिया दिनुहोस्