झापा । जेनजी प्रदर्शन र यातायात बन्दका कारण झापाका व्यवसायिक केरा किसानहरू ठूलो आर्थिक क्षतीमा परेका छन् । बजारमा पुर्याउन नपाएर लाखौँ मूल्यबराबरको केरा बगानमै नष्ट भएको किसानहरूको गुनासो छ ।

भद्रपुर र गौरीगञ्जका प्रेम खड्काले रु २५–३० लाख बराबरको केरा नोक्सान भएको बताए । यस्तै , शिवसताक्षीका बेनु पराजुलीले २०० घरी केरा बजार नपुगेपछि बगानमै नष्ट भएको बताए। प्रदर्शनका क्रममा केही किसानका बगानमै पसेर केरा काटिएकोसमेत रिपोर्ट छ ।
कृषि ज्ञान केन्द्रका अनुसार झापामा १,९०० हेक्टरमा केराखेती हुने र वार्षिक ३८ हजार मेट्रिक टन उत्पादन हुने गर्दछ । भारतबाट सस्तो केरा आयात र कोल्ड स्टोरको अभावले समस्या झनै बढेको किसानको गुनासो छ ।














