काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी योजनाबद्ध र षड्यन्त्रपूर्ण भएको बताएका छन् ।

बिहीबार च्यासलस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् । पोखरेलले एमालेले विधान महाधिवेशनमार्फत जेनजी पुस्ताका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै त्यसको भोलिपल्ट राज्यका महत्त्वपूर्ण निकाय र राजनीतिक दलका कार्यालयमा आगजनी र तोडफोड भएको बताए ।
उनले भने, ‘जेनजी पुस्ताका माग सम्बोधन गर्ने हाम्रो वक्तव्यपछि भएको वितण्डा षड्यन्त्रपूर्ण छ । राज्यका संस्था, जननिर्वाचित निकाय र पार्टी कार्यालयहरू ध्वस्त पारिए ।’उनले यस्तो विध्वंसमा बहुदलीय लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गर्ने र व्यवस्था विरोधी तत्त्वहरूको हात रहेको दाबी गरे ।
च्यासलस्थित एमाले कार्यालयमा भएको आगजनीले बहुमूल्य सामग्री नष्ट भएको उल्लेख गर्दै उनले यस्ता कार्य आपराधिक भएको बताए । पोखरेलले सबै मिलेर यस्तो विध्वंसको विरोध गर्नुपर्नेमा जोड दिए । ‘यो षड्यन्त्रपूर्ण र आपराधिक छ । हामी उच्च मनोबलका साथ अगाडि बढ्नुपर्छ,’ उनले भने ।














