काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग व्यवसायमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरेको छ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले आज गृहमन्त्री ओमप्रकाश आर्यालसँग भेट गरी मर्यादित वातावरणमा व्यवसाय सञ्चालनका लागि सुरक्षा आवश्यक रहेको बताएका हुन् ।
अध्यक्ष ढकालले निजी क्षेत्रमा जिल्लास्तरमा सुरक्षाको अनुभूति नभएकाले सरकारले यस विषयमा विशेष ध्यान दिनुपर्ने बताए । उनीहरूले प्रहरी संरचना पुनःनिर्माणमा पनि उद्योग सङ्घ सहकार्य गर्न तयार रहेको जनाए र प्रमुख जिल्ला अधिकारीलाई समन्वयका लागि जानकारी दिन आग्रह गरे ।
महासङ्घले आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी क्षेत्रका सम्पत्ति र व्यवसायमा भएको तोडफोड , आगजनी गर्नेहरूविरुद्ध कडा कारबाही गर्न पनि गृहमन्त्रीसँग आग्रह गरेको छ। गृहमन्त्री आर्यालले आम नागरिक र व्यवसायीको शान्ति सुरक्षामा सरकार संवेदनशील रहेको बताएका छन् ।














