Logo
Logo

फ्रान्समा सरकारविरुद्ध लाखौँ जनता सडकमा, यस्तो विरोधको मुख्य कारण


1.5k
Shares

काठमाडौं । बजेट कटौतीको विरोधमा फ्रान्समा ठुलो विरोध प्रदर्शन भइरहेका छन् । ट्रेड युनियनहरूले बिहीबार हडतालको आह्वान गरेका थिए, जसमा लाखौं मानिसहरू सहभागी भएका थिए । पेरिस, लियोन, नान्टेस, मार्सेली, बोर्डो, टुलुज र केन जस्ता शहरहरूमा सडक अवरुद्ध भएका थिए ।

सरकारी तथ्याङ्कका अनुसार, यी विरोध प्रदर्शनहरूमा ५ लाखभन्दा बढी मानिसहरू सडकमा उत्रिएको बताइएको छ । जबकि युनियनहरूले यो संख्या १० लाख रहेको बताएका छन् । सुरक्षाका लागि देशभर ८० हजारभन्दा बढी प्रहरी अधिकारीहरू तैनाथ गरिएका थिए र १४१ भन्दा बढी पक्राउ परेका थिए ।

ढुङ्गा हानाहानका घटनाहरू र अश्रुग्यासको प्रयोग भएको थियो, तर धेरैजसो विरोध प्रदर्शन शान्तिपूर्ण रहे । स्कूले विद्यार्थीहरूले पनि धेरै ठाउँमा राजमार्गहरू अवरुद्ध गरेका थिए ।

फ्रान्सेली सरकारले २०२६ को बजेटमा लगभग ५२ अर्ब डलर कटौती गर्ने योजना बनाएको छ । यसमा पेन्सन फ्रिज गर्ने, स्वास्थ्य र शिक्षामा खर्च घटाउने, बेरोजगारी भत्ता घटाउने र दुई राष्ट्रिय बिदाहरू हटाउने समावेश छ ।

सरकारले देशको घाटा युरोपेली संघको ३ प्रतिशत मापदण्डभन्दा दोब्बर भएको र ऋण जीडीपीको ११४ प्रतिशत पुगेको बताएको छ । तर मानिसहरू यसलाई धनीहरूका लागि राहत र गरिबहरूमाथि बोझको रूपमा हेर्छन् । युनियनहरूले धनीहरूमाथि कर बढाउनुपर्ने बताएका छन् । मुद्रास्फीतिका कारण जीवन पहिले नै कठिन भइसकेको छ ।

विरोध प्रदर्शनका चार मुख्य कारणः

१– राष्ट्रपति म्याक्रोंका नीतिहरू: जनताको ठूलो वर्गले म्याक्रोंका नीतिहरू आम जनताको हित विरुद्ध र धनीहरूलाई फाइदा पु¥याउने ठान्छन् ।

२– बजेट कटौती : सरकारले खर्च कटौती गरेर र कल्याणकारी कार्यक्रमहरू घटाएर आर्थिक सुधारहरू लागू गरेको छ । यसले आम जनता, विशेष गरी मध्यम वर्ग र श्रमिक वर्गमाथि दबाब बढाएको छ ।

३– २ वर्षमा ५ प्रधानमन्त्री : सेबास्टियन लेकोर्नु हालै प्रधानमन्त्री नियुक्त भएका थिए । दुई वर्षभन्दा कम समयमा यो पाँचौं प्रधानमन्त्री हो । यसले जनतामा अस्थिरता र असन्तुष्टि बढाएको छ । प्रदर्शनकारीहरू उनको नियुक्तिको सुरुवातदेखि नै सरकारमाथि दबाब दिन चाहन्छन् ।

४– सबै कुरा रोक्ने आन्दोलन : वामपन्थी गठबन्धन र तल्लो तहका संगठनहरूले देशको सबै कुरा ठप्प पार्न र सरकारलाई आत्मसमर्पण गर्न बाध्य पार्न यो नाराका साथ आन्दोलन सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्