काठमाडौं । नेकपा एमालेले संविधान दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । एमालेले कार्यक्रम गर्ने तयारी गरेपछि पार्टी कार्यालय च्यासलमा ठूलो संख्यामा प्रहरी परिचालन भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार च्यासलमा जम्मा भएर त्यहीँ कार्यक्रम मनाउने तयारी गरिएको छ । तर, कुनै ¥याली गर्ने कार्यक्रम भने छैन । पार्टी कार्यालयमा नेता कार्यकर्ताहरू उपस्थित भएर संविधानको उपलब्धिको चर्चा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अपिल गर्ने एमालेले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा भएको सार्वजनिक निजी सम्पत्तिमाथि क्षति तथा संलग्नलाई कारबाहीको लागि यथाशीघ्र उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन तोकिएकै समयमा निर्वाचन गराउन ध्यानाकर्षणसहित जनतामा आव्हान गरिने एमालेले जनाएको छ ।
आजको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने वा नहुने भन्ने कुनै जानकारी दिइएको छैन । यदपि, यसअघि एमाले नेता महेश बस्नेतले संविधान दिवशको अवसरमा आयोजना हुने कार्यक्रममा अध्यक्ष ओली सार्वजनिक हुने बताएका थिए ।
जेनजी आन्दोलन हिंसात्मक बनेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुरक्षाका लागि सेनाले नियन्त्रणमा लिएर शिवपुरी लगेका थिए । ओली बिहीबार मात्र सेनाको ब्यारेकबाट बाहिर आएका हुन् ।














