काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यमान संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

शुक्रबार संविधान दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले २०७२ सालमा संविधान बन्दा माओवादीले राखेको फरकमत अहिले सम्बोधन गर्नुपर्ने बेला आएको बताए । उनले त्यसबेला नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारीको व्यवस्था हुनुपर्ने लगायतका आफूहरुले फरकमत राखेको स्मरण गर्दै अहिले जेनजी आन्दोलनले त्यसलाई पुष्टि गरिदिएको बताए ।
ठूला भनिएका दलले त्यतिबला त्यो संबोधन नगरेको भन्दै उनले अहिले जेनजी आन्दोलनले आधार तय गरेको बताए । प्रचण्डले भने, ‘राजनीतिक स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक छ भनकै हो । बहस भयो । सहमति भएन । त्यसमा सहमति भएको भए अहिले अर्कै परिस्थिति हुन्थ्यो । जेनजीले आन्दोलन गर्नु पर्थेन् । यति ठूलो क्षति हुनेथिएन ।’
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानका विषय ठीक थिए भन्ने जेनजी आन्दोलनले पुष्टि गरेको दोहो¥याउँदै संविधानलाई संशोधन गरेर जानुपर्ने धारणा राखेका छन् ।
अध्यक्ष प्रचण्डले भने, ‘हामीले संविधान बनाउँदा भिन्न मत राखेका थियौं । जेनजीको आन्दोलनले फेरि पुष्टि गरेको छ, ती मत सही थिए । १० वर्षपछि पुनः संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको देख्छु म । त्यसलाई कार्यान्वयन गर्न अगाडि बढ्नुपर्छ ।’ उनले ठूला भनिएका दलहरुको अहंकारले यो भयंकर अवस्था आएको पनि आरोप लगाए ।














