काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन् ।

शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा आयोजित सरसफाइ तथा पुनर्निर्माण अभियानको उद्घाटन कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिने प्रतिवद्धता जनाइसकेकी छन् ।
“सरकारले आवश्यक कामहरू अघि बढाइसकेको छ । अब मन्त्रिपरिषद् चाँडै पूर्ण हुनेछ । प्रधानमन्त्रीले पनि यो विषयमा चाँडै कदम चाल्ने बताउनुभएको छ,” घिसिङले भने ।
मन्त्री घिसिङले सरकारले पुनर्निर्माण लगायतका महत्वपूर्ण काम थालनी गरिसकेको उल्लेख गर्दै सरसफाइ अभियान सरकारको प्राथमिकतामा रहेको बताए ।
“हामीले सरसफाइको काम आ–आफ्नो मन्त्रालयमा सुरु गरिसकेका छौं । भोलेन्टियर साथीहरू पनि हामीसँगै जोडिनुभएको छ,” उनले भने, “विभिन्न संघसंस्थाका साथीहरू पनि सहभागी हुँदै हुनुहुन्छ । हामी सबैलाई अभियानमा सहभागी हुन आग्रह गर्दछौं ।”














