काठमाडौं । जेनजीले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
शुक्रवार संवाद डबलीमा जेनजीले आयोजना गरेको पत्रकार सम्मेलनमा आन्दोलन दबाउन राज्यको दुरुपयोग गरेको भन्दै ओली र लेखकसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई पनि पक्राउ गर्न माग गरेका छन् ।

जेनजीका सल्लाहकार डा. निकोलश भूसालले राष्ट्रियसभा विघटन गरेर संविधानले संशोधन गरेर पत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्नुपर्ने बताए । उनले २०४६ सालपछिका सम्पूर्ण उच्च तहका नेता कर्मचारीको सम्पत्तिको छानबिन गर्न उच्चस्तरिय आयोग बनाउन समेत माग गरे ।
जेनजी आन्दोलनका घाइते हरि अधिकारीले सहिद परिवार नर्गिस थापाले आफूहरूले समाजमा व्याप्त कुशासनविरुद्ध आन्दोलन गरेको बताए । उनले आफ्ना माग पूरा नभए आन्दोलन जारी रहेन समेत बताए । त्यस्तै, जेनजी सहिद परिवार नर्गिस थापाले आफ्ना परिवारको बगेको रगतको अपमान नहुने गरी सरकार अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा जेनजी सल्लाहकार कुशलव केसी, खेमराज साउद, खोजराज कटुवाल, निपेस ढाका अधिकारी, डा.सुन्दर थापा, वैज्ञानिक कपिल पौडेललगायतले शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी भए मात्र देश विकासको बाटोमा हिँड्ने बताएका थिए । उनीहरूले शिक्षा स्वास्थ्य निःशुल्क हुनुको साथै देशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताए ।
अभियान्ता कुशलव केसीले सहकारी पीडितको पक्षमा आफू लामो समयदेखि सडकमै रहेको बताउँदै अबको सरकारले ती मागहरुको सम्बोधन गर्न सरकारलाई सुझाव दिए ।














