Logo
Logo

दसैँ–तिहारको बीचमा पनि विद्यालय सञ्चालन हुने 


3k
Shares

काठमाडौं । जेनजी आन्दोलनका कारण विश्वविद्यालयदेखि विद्यालय तहसम्मको शैक्षिक क्यालेन्डर प्रभावित भएको छ । गत २३ र २४ भदौमा भएको आन्दोलन का कारण त्रिभुवन विश्वविद्यालयको ४ वर्षे स्नातक तहको परीक्षा स्थगित भएको थियो ।

The current image has no alternative text. The file name is: TU.jpg

२४, २५ र २६ भदौको परीक्षा २, ४ र ५ असोजलाई सारिएको थियो । तर परिस्थिति थप असहज भएपछि परीक्षा नै स्थगित गरिएको थियो । 

अब दसैँ र तिहारपछि मात्र परीक्षा हुने भएको छ । चौथो वर्षको नतिजा पनि सार्वजनिक गर्ने कार्य तालिका प्रभावित भएको छ । चौथो वर्षको नतिजा निकालेर दुई विषय लागेकाको पूरक परीक्षा गर्नुपर्ने थियो । यसले स्नातकोत्तरको भर्नामा पनि असर पर्ने भएको छ । 

स्नातक तहको दोस्रो वर्षको परीक्षा फारम पनि त्रिविले खुलाएको थियो । तर आन्दोलनका कारण प्रभावित भएको छ । त्रिविको दीक्षान्त समारोह १५ पुसभित्र गरिसक्नु पर्ने हुन्छ । तर परीक्षा र नतिजा प्रकाशनमा प्रभावित भएकाले दीक्षान्त समारोह पनि समयभित्र हुने कि नहुने भन्नेमा अन्यौलता छाएको छ । 

आन्दोलनका कारण प्रभावित भएकाले जाडो बिदामा पढाउने तयारीमा त्रिवि रहेको छ ।आन्दोलनले शैक्षिक क्यालेन्डरमा असर परेको छ । ७ दिन प्रभावित भएको छ ।  त्रिविमा कक्षा भने छठपछि मात्र सुरु हुनेछ ।

दसैँ–तिहार बीचमा पनि कक्षा

निजी विद्यालयहरूले दसैँ र तिहारको बीचमा पनि कक्षा सञ्चालन गर्ने भएका छन् । आन्दोलनका कारण एक साता कक्षा प्रभावित भएकाले दसैँ र तिहारको बीचमा कक्षा सञ्चालन गरिन लागेको हो । 

अतिरिक्त गतिविधि कटौती गरेर पनि कोर्स पूरा गर्नुपर्ने बाध्यता भएकाले बीचमा पनि कक्षा सञ्चालन गरिन लागेको हो । आगामी फागुनका लागि चुनाव तोकिएकाले त्यसबेला पनि विद्यालय बन्द हुने भएकाले अगाडि नै कोर्स पूरा गर्ने योजना विद्यालयहरूको छ ।

निजी विद्यालयहरूले जेनजीको आन्दोलनका कारण परीक्षा प्रभावित भएकाले शनिवार पनि परीक्षा लिइरहेका छन् । सामुदायिक विद्यालयमा पनि स्थानीय तहले प्रभावित भएको विद्यालयहरूमा आवश्यकताको आधारमा निर्णय गरेर कक्षा सञ्चालन गर्ने छन् ।

सहरी क्षेत्रमा प्रभाव भए पनि कतिपय ग्रामीण भेगमा आन्दोलनको असर परेको थिएन । सरकारले पनि आन्दोलनले प्रभावित भएको ठाउँमा बिदाको समयमा मिलाएर कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्