काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई रणनीतिक रूपमा असफल बनाउने प्रयास भएको आरोप लगाएका छन् । संविधान दिवसको अवसरमा जनप्रगतिशील मञ्च, एसिया प्रदेश सङ्गठन समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले देश गम्भीर सङ्कटको घेरामा रहेको भन्दै राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन आह्वान गरे ।

उनले देशलाई असफल बनाउने प्रयासविरुद्ध लड्न राष्ट्रिय एकता आवश्यक रहेको जोड दिए । प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणमा जनयुद्धको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे । उनले भने, ‘७० वर्षदेखि थाती रहेको संविधान सभाबाट संविधान निर्माण जनयुद्धमा हजारौँको बलिदानबिना सम्भव थिएन ।’
प्रत्यक्ष निर्वाचित कार्यकारी र समानुपातिक प्रतिनिधित्व जस्ता मुद्दा संविधानमा समावेश गर्नुपर्नेमा माओवादीले जोड दिएको बताउँदै उनले अहिले माओवादी केन्द्रको विचारको महत्त्व झनै बढेको दाबी गरे । जेनजी आन्दोलनबारे बोल्दै प्रचण्डले सरकारको बल प्रयोगप्रति आपत्ति जनाएका छन् ।
माओवादी केन्द्रले सुरुदेखि नै संयतता अपनाउन आग्रह गरेको स्मरण गर्दै उनले प्रतिकूल परिस्थितिमा आन्दोलनका माग सम्बोधन गरी संविधानको रक्षा गर्न आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको बताए । सङ्कटको समयमा देशलाई सहज निकास दिन र संविधानको रक्षा गर्न माओवादी केन्द्र प्रतिबद्ध रहेको उनको भनाइ छ ।














