चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा हिजो साँझबाट निरन्तर पहिरो गइरहेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि यहाँ खुक्खा पहिरो खसिरहेको छ । पहिरोले करिब १०० मिटर सडक ढाकेको छ ।

शनिबार बिहानैदेखि पहिरो हटाउने प्रयास भएपनि पहिरो खसिरहेकोले असम्भव भएको प्रहरीले जनाएको छ । पहिरो हटाउन असम्भव भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यो सडकखण्ड हुँदै आउजाउ गर्ने यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
अहिले पनि डोजरको प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । पहिरो झरिरहेकोले डोजर रोकिँदै काम गर्दै गर्नुपर्ने अवस्था रहेको प्रहरीले बताएको छ । सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।














