Logo
Logo

जेनजीको बिद्रोहपछि पनि बिचौलियाको चलखेल उस्तै, मालपोत र नापीमा सरुवाका लागि हुँदैछ बोलकबोल


2.6k
Shares

काठमाडौं । बिचौलिया राज र भ्रष्टाचारको अन्त्यका लागि जेन–जी समूहले बिद्रोह गरी सरकार नै परिवर्तन गरिसकेको छ । जेनजीको माग बमोजिम सुशीला कार्कीको नेतृत्वमा सरकारसमेत गठन भइसकेको छ । तर, कार्की नेतृत्वको सरकार गठनपछि पनि बिचौलियाहरुले सरकारी निकायमा हैकम जमाएर आफू अनुकूलका सेटिङका काम गर्न छाडेका छैनन् ।

कार्की नेतृत्वको सरकार बनेपछि कर्मचारी सरुवा बढुवा नियम, कानुन र मापदण्ड अनुसार पारदर्शी ढंगले हुने अपेक्षा गरिए पनि मालपोत कार्यालय कर्मचारीहरुको सरुवाका लागि बिचौलिया प्रमोद खड्काको निवासमा कर्मचारीहरुको घुईँचो लागेको छ ।

असोज महिनामा मालपोत र नापी कार्यालयका कर्मचारीहरुको सरुवा हुने गर्दछ । काठमाडौं उपत्यकाका नापी र मालपोत कार्यालयका सरुवाका लागि कर्मचारीहरु विगतमा बिचौलिया प्रमोद खड्काकोमा धाउने गरेका थिए । उनले नै दररेट तय गरी काठमाडौं उपत्यकाका मालपोत कार्यालय र उपत्यका बाहिरका मुख्य सहरमा सरुवाको सूची बनाउने र तत्कालीन भूमिब्यवस्था मन्त्री बलराम अधिकारी र भूमि ब्यवस्थापन तथा अभिलेख बिभागका महानिर्देशक शिवप्रसाद रेग्मीलाई दिएर त्यही अनुसार सरुवा हुने गरेको थियो ।

लिचीबारी जग्गा प्रकरणमा घुस डिलमा मुछिए पनि ओलीले नहटाएका मन्त्री बलराम अधिकारी पदच्यूत भएपछि बिचौलिया प्रमोद खड्काले भूमि ब्यवस्थापन बिभागका महानिर्देशक रेग्मीमार्फत् सरुवा गर्ने गरी घरमै घुसको दररेट तय गर्दै सरुवा सूची बनाएका छन् ।

भूमि ब्यवस्था मन्त्रालयका सचिव केदारनाथ शर्मा सरुवा पारदर्शी हुनुपर्ने पक्षमा भए पनि बिभागका महानिर्देशक रेग्मी र प्रशासन शाखाका निर्देशक खेमनारायण पौडेलसँग मिलेर खड्काले सरुवामा रकम उठाइरहेको आरोप छ । काठमाडौं उपत्यकामा बर्र्षौदेखि रजगज गरी अकूत सम्पत्ति आर्जन गरेका मालपोतका खरिदारदेखि उपसचिवसम्मले बिचौलिया खड्कामार्फत् नै सरुवा सेटिङ गरेको स्रोत बताउँछ ।

बिचौलिया खड्काले डेढ महिनाअघि मात्र ओली सरकारका विवादित मन्त्री बलराम अधिकारीमार्फत् मालपोत कार्यालय ललितपुर, भक्तपुर र कलंकीको प्रमुखको काजसरुवा गराएका थिए ।

बिचौलिया प्रमोद खड्काको सामान्य प्रशासन मन्त्रालयमा समेत सेटिङको जालो नै छ । सामान्य प्रशासनको कर्मचारी प्रशासन शाखाका उपसचिव भीमकान्त पौडेल त २ बर्ष ललितपुर मालपोत कार्यालयमा मालपोत अधिकृतका रुपमा काम गरेकाले प्रमोद खड्का नामक बिचौलियाको उनीसँग लामो समयदेखि सेटिङ हुने गरेको छ ।

को हुन् बिचौलिया प्रमोद खड्का ?

उदयपुर घर भएका प्रमोद खड्का विगत लामो समयदेखि कर्मचारी सरुवामा रकम उठाउने बदनाम बिचौलिया हुन् भनिन्छ । उनको बास नै सामान्य वा भूमिव्यवस्था मन्त्रालयका कर्मचारीका घर वा होटलहरुमा हुने गरेको छ । २०७० सम्म राप्रपाको कार्यक्रममा देखिने र सामान्य डेराभाडा समेत तिर्न नसक्ने हैसियतका र पेशा केही नभएका खड्का १ करोडको स्कोरपियो चढ्छन भने करोडौंको सम्पत्ति जग्गा जमिन उनले जोडिसकेका छन् । खुमलटारमा उनको भब्य बंगलासमेत छ ।

उनको पेशा नै कर्मचारी सरुवामा पैसा उठाउने बिचौलिया हो । मालपोतका कर्मचारी त उनलाई नै मन्त्रीका रुपमा लिने गर्दछन । सामान्य प्रशासन मन्त्रीका रुपमा गुप्ता आएपछि उनले त्यो मन्त्रालयका कर्मचारी प्रशासन शाखादेखि महाशाखासम्मका कर्मचारीका निकट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्