काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुइनखोला नजिक खसेको पहिरो पन्छाउने कार्य आज बिहानैदेखि सुरु गरिएको छ । अहिले बिहानैदेखि मुग्लिनतर्फ र नारायणगढ तर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

तर, अझै ढुंगा झर्नेक्रम रोकिएको छैन । माथिबाट ढुंगा खसिरहने हुँदा निरन्तर रूपमा काम गर्न बाधा भएको छ । तर, जति सक्दो चाँडो सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको डिभिजन कार्यालयले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलानेर शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रु बाटोमा अलपत्र परेका छन् । अहिले पनि सडकमा सवारी साधन र मानिसहरू अलपत्र छन् ।
जिल्ला प्रशासन कार्यालय र प्रहरीले अलपत्र यात्रुहरूलाई शनिबार दिउँसो र बेलुकी पानी र खानाको व्यवस्था गरेको थियो । राजमार्गमा भएका व्यवसायीलाई पनि अलपत्र यात्रुको सहजीकरणका लागि अपिल गरिएको थियो । तुइनखोला मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।
वैकल्पिक बाटो प्रयोग गर्न सुझाव
यसैबीच मुख्य राजमार्ग नै अवरुद्ध भएपछि शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि छलफल भएको थियो । मन्त्री कुलमान घिसिङले राजमार्ग खुलाउन र वैकल्पिक व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएको छ । विभागले विकल्पमा रुपमा नौबिसे–दामन–हेटौंडा र मुग्लिन–भिमाद–डेढगाउँं–गैंडाकोट अर्थात् कालीगण्डकी करिडोर प्रयोग गर्न सकिने जनाएको छ ।














