
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी सभापतिमाथि सांघातिक आक्रमण भएको अवस्थामा पनि पार्टीकै जिम्मेवार नेताहरू संवेदनशील नदेखिएको बताएका छन् ।
आज आफ्नो जलेको घरमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई लक्षित गर्दै पार्टीको नेतृत्वमाथि सांघातिक हमला हुँदा जिम्मेवार नेताहरू नै असंवदनशील बन्नुलाई दुर्भाग्य भनेका हुन् ।
भदौ २४ गते भएको जेनजी प्रदर्शनकारीहरूले पार्टी सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवामाथि सांघातिक आक्रमण गरेको थियो ।
प्रवक्ता महतले सांघातिक हमलाबाट सभापति देउवाको घाउ निको नभइसकेको अवस्थामा नेतृत्व परिवर्तनको बहस गरेर नुन छर्ने काम गरिएको आरोप लगाउँदै भने, ‘पार्टी सभापतिको आलो घाउ ठीक नहुँदै पार्टीभित्र जुन बहस सुरू गरिएको छ । यस्तो बेला संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो, त्यसप्रति गम्भीर होऔं ।’
उनले पार्टी एक भएर कमि कमजोरी हटाउँदै अघि बढ्ने बेला आलो घाउमा नुन छर्ने प्रवृत्ति देखिएको पनि बताए । काठमाडौंमा २३ गतेको प्रदर्शनअगाडि त्यही सभापति ठीक हुने र अहिले परिस्थिति बदलिएपछि गलत हुने भन्ने प्रवृत्ति देखिएको प्रवक्ता महतले बताए ।














