काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा घाइते भएकाहरूले आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्दै आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

आन्दोलनका घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरूको अपमान हुने किसिमका गतिविधिहरू सह्य नहुने चेतावनी पनि दिएका छन् । जेनजीका विभिन्न समूहले अहिले सरकार समक्ष आ-आफ्नै माग राखिरहेका छन् ।
जसमा राजनीतिक दलमा आबद्ध युवाहरूले समेत जेनजी आन्दोलनको लाभ उठाउन लागेको भन्दै अर्को समूह आक्रोशित भएको छ । वास्तविक जेनजी पुस्ता आफूहरू रहेको भन्दै आन्दोलनबाट प्राप्त उपलब्धिमा रजाइँ गर्न नपाइने उनीहरूको माग छ ।
उनीहरूले सरकारमा अवसरवादीहरू हाबी भएको भन्दै नाराबाजी पनि गरेका थिए । उनीहरूले हामी नेपालका संस्थापकसमेत रहेका सुदन गुरुङलाई नक्कली जेनजी भएको आरोप लगाए ।
आन्दोलनका घाइतेहरूलाई हालसम्म कुनै किसिमको सुविधा नदिइएको उनीहरूको आरोप छ । उनीहरूले सरकारमा घाइतेहरूको परिवारको पनि सहभागिता हुनुपर्ने माग अघि सारेका छन् ।














