Logo
Logo

माओवादी नेतृत्व नारायणकाजी श्रेष्ठलाई दिन जनार्दनको प्रस्ताव 


14k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले आगामी महाधिवेशनसम्म कार्यवाहक नेतृत्व वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई सुम्पनुपर्ने प्रस्ताव राखेका छन् । आइतबार पार्टी कार्यालयमा बसेको जेनजी विद्रोहपछिको पहिलो पदाधिकारी बैठकमा शर्माले पार्टी पुनर्गठन र नयाँ पुस्ताको नेतृत्व सुनिश्चित गर्ने दस्ताबेज पेस गरेका हुन् । 

The current image has no alternative text. The file name is: janardhan.jpg

उनले भ्रष्टाचार, नेतातन्त्र, परिवारवाद र वैभवशाली जीवनशैलीविरुद्ध जेनजी आन्दोलनले प्रहार गरेको उल्लेख गर्दै आत्मआलोचना र जनतामाझ पश्चातापको आवश्यकता औँल्याए । शर्माले आन्दोलनलाई अवसरका रूपमा लिँदै पार्टीको सोच, नीति, संरचना र नेतृत्व प्रणालीमा आमूल परिवर्तनको जोड दिए ।

उनको प्रस्तावमा संविधानको रक्षा, संसद् विघटन रोक्ने, राष्ट्रियता र सार्वभौमिकताको संरक्षण, भ्रष्टाचार छानबिन आयोग गठन र निर्वाचन सम्पन्न गर्ने विषय समेटिएका छन् । शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै पदाधिकारीको राजीनामा र कार्यभार नारायणकाजीलाई सुम्पने प्रस्ताव गरेका हुन् । 

प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, पूर्ण समानुपातिक निर्वाचन, महिला, दलित, अल्पसङ्ख्यक र उत्पीडित समुदायको नेतृत्व विकास, सहिद परिवार र अपाङ्ग योद्धाको व्यवस्थापन, स्वयंसेवक परिचालन र भ्रष्टाचारमुक्त पार्टी निर्माणका लागि स्वतन्त्र आयोग गठनको माग छ ।

शर्माले पार्टीको चौथो पुनर्गठन गरी वामपन्थी जनमत, उत्पीडित समुदाय, बौद्धिक वर्ग र प्रविधिमा अब्बल नयाँ पुस्तालाई जोडेर कम्युनिस्ट आन्दोलनलाई नयाँ ढाँचामा अघि बढाउनुपर्ने प्रस्ताव राखेका छन् । 

प्रतिक्रिया दिनुहोस्