काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई बधाई नदिन आग्रह गरेका छन् । सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुन लागेका पुनले बधाई दिँदा खादा माला लिएर नआउन पनि आग्रह गरेका छन् ।

पुनले बधाई र खादामालाको साटो ५ महिनामा आफ्नो क्षेत्राधिकारभित्र पर्ने मन्त्रालयबाट गर्न सकिने काम र आइडियाहरू ह्वाट्सएपबाट पठाउन आग्रह गरेका छन् । उनले आफूलाई मन्त्री नभन्न आग्रह गर्दै भन्ने मन भए ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् ।
‘मेरो पहिलो घोषणा कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र बधाई दिन खादा माला लिएर नआउनुहोला’ उनले भनेका छन्, ‘बरु शिक्षा विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्नै पर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनुहोला । मलाई कसैले पनि मन्त्री नभन्नु होला कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’
आइतबार महावीर पुन, अनिलकुमार सिन्ह, जगदीश खरेल र डा संगीता मिश्रा र डा मदन परियारलाई राष्ट्रपति समक्ष मन्त्रीमा सिफारिस भएका छन् । उनीहरुको आज नियुक्ति तथा सपथ हुने भएको छ ।














